रामपुरमा वीस शैयाको क्यारेण्टाइन तयार, घर घरमा स्वास्थ्यकर्मी परिचालन

0
1466

सुशीला रेग्मी

रामपुर (पाल्पा), १२ चैत : कोरना भाइरस कोभिड १९ बाट सजग रहन रामपुर नगरपालिकाले वीस शैयाको क्यारेण्टाइन कक्षा तयार पारेको छ । रामपुर नगरपालिका वडा नं ५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा क्वारेण्टाइन कक्ष निर्माण गरिएको हो ।

गाउँ गाउँमा स्वास्थ्यकर्मी सहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद लागेका व्यक्तिलाई बुधवार देखि क्वारेण्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शंकास्पद लागेका नागरिकलाई क्वारेण्टाइनमा ल्याएर राख्नेछौ, तत्काललाई वीस शैयाको क्वारेण्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुई सय सम्मको बनाउने तयारीमा छौँ” नगर प्रमुख थापाले बताउनुभयो ।

भारत लगायत अन्य तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाईमा पहिचान गरी क्वारेण्टाइनमा राखिने नगर प्रमुख थापा बताउनुहुन्छ ।

नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेण्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा दिइरहेको छ ।

साथै नगरपालिकाले मोटरसाइकल, स्कुटर, जीप बस, भ्यान लगायतका सवारी साधन संचालनमा रोक लगाएको छ । दुध र औषधी पसल बाहेक अन्य व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।

वडा वडामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना सहितको टोली गाउँ गाउँमा परिचालन गरिएको छ । अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै कसैले नियम उल्लङ्घन गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

रामपुर नगरपालिकाले नगरका विभिन्न सिमा नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाई निगरानी गरिरहेको छ । प्रकोप व्यवस्थापन कोष समेत खडा गर्ने नगरपालिकाले जनाएको छ ।—

SHARE