रामपुर नगरपालिकाले २० शैया सहितको क्वारेण्टाईन बनाउँदै

0
1400

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ चैत  : कोरना भाइरस कोभिड १९ बाट सजग रहन रामपुर नगरपालिकामा क्वारेण्टाइन निर्माण गरिदैछ । रामपुर नगरपालिका वडा नं ५ स्थित बालकल्याण प्राथमिक विद्यालयमा २० शैया सहितको क्वारेण्टाइन निर्माण भइरहेको छ ।

बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शंकास्पद लागेका नागरिकलाई क्वारेण्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

भारत लगायत अन्य तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाईमा पहिचान गरी क्वारेण्टाइनमा राखिने नगर प्रमुख थापा बताउनुहुन्छ ।

साथै नगरपालिकाले मोटरसाइकल, स्कुटर, जीप बस, भ्यान लगायतका सवारी साधन संचालनमा रोक लगाएको छ । दुध र औषधी पसल बाहेक अन्य व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।

अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै कसैले नियम उल्लङ्घन गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको दुईवटा घुम्ती टोली घर घरमा खटाइने भएको छ ।

रामपुर नगरपालिकाले नगरका विभिन्न सिमा नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाई निगरानी गरिरहेको छ । प्रकोप व्यवस्थापन कोष समेत खडा गर्ने नगरपालिकाले जनाएको छ ।

SHARE