पाल्पामा निषेधाज्ञा जारी

0
588

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ चैत  : कोरना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि पाल्पामा निषेधाज्ञा जारी गरिएको छ ।

घरबाहिर ननिस्कन आदेश जारी गर्दै लगाइएको लकडाउनको अवज्ञा गरेपछि निषेधाज्ञा नै लगाउन थालिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ । मंगवार दिउँसो देखि सुरु गरिएको निषेधाज्ञा चैत १८ गतेसम्म जारी रहने प्रशासनले जनाएको छ ।

नागरिकलाई कोरना भाइरसबाट सजग रहन अपिल गरेपनि नागरिकले सङ्क्रमण रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको अवज्ञा गरेपछि निषेधाज्ञा लगाउनुपर्ने अवस्था सिर्जना भएको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरना भाइरसको ंसङ्क्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।

SHARE