बालविवाह न्युनिकरण अभियानमा रामपुर

0
571
सांकेतिक तस्बिर

सुशीला रेग्मी

रामपुर (पाल्पा), ४ चैत  : बालविवाह न्युनीकरणको उद्देश्यका साथ नेपालमा ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने भनाई सुन्न थालिएको वर्षौं भैसके पनि उमेर नपुग्दै विवाह गर्ने क्रम भने रोकिएको छैन ।

परिपक्क नभइकन हुने विवाह सँगै त्यसले निम्त्याएका शारिरिक जोखिमी त छँदै छन् यसले समाजिक रुपमा पनि असर पारिरहेको छ । यिनै वास्तविकतालाई दृष्टिगत गरी बालविवाह न्युनिकरणका लागि पाल्पाको रामपुरमा सचेतना अभियान थालिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को कार्यालयले ‘बिहेवारी वीस वर्ष पारी’ भन्ने भनाईबारे सचेत गराउँदै विद्यालयहरूमा पुगेर सचेतामुलक कार्यक्रम गर्न थालेको हो । वडा कार्यालयले विद्यालयमा पुगेर बालबालिकालाई बालविवाहबारे सचेत गराउँदै विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

यहाँका दरैठाँठी माविमा यसवर्ष एक जना विद्यार्थीको विद्यालय उमेरमा नै विवाह भयो । त्यस्तै नवदुर्गा माविमा उमेर नपुग्दै गतवर्ष दुई जनाले विवाह गरेर घरजम गरेका छन् । यो अवस्था देखेर वडा कार्यालयले उमेर नपुग्दै विवाह हुने दरलाई कम गर्न बालविवाह सचेतना अभियान चलाएको हो ।

‘म र मेरो समाजको भूमिका, बालविवाह’ जस्ता शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरी बालविवाह न्युनिकरणको अभ्यासमा लागेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“बालविवाह न्युनिकरण गरी शुन्यमा पु¥याउन हामीले पहिला विद्यालयबाट अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “निबन्ध लेख्न लगाउने र पुरस्कृत गर्ने, सचेतनामुलक कार्यक्रम गर्ने गरेका छौँ ।”

विद्यालयबाट सुरु भएको कार्यक्रम अभिभावक हुँदै सरोकारवालासम्म निरन्तर सञ्चालन गर्ने जानकारी दिदै उहाँले वडामा बालविवाहको दर शुन्यमा पु¥याउने लक्ष्यका साथ लागेको बताउनुभयो ।

बालविवाह न्युनिकरण सम्बन्धी वडाले विद्यालयमा आएर गरेको कार्यक्रमले राम्रो प्रभाव पारेको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताउनुहुन्छ ।

“बालविवाह न्युनिकरण गर्न वडाले विद्यालयमा नै कार्यक्रम गर्न आएपछि विद्यार्थीहरु सचेत बनेका छन्, विद्यार्थीको सहभागीता राम्रो रहेको हुदा यो कार्यक्रम एउटा वडामा मात्र नभई नगरका सबै वडाले गर्नुपर्नेछ” – प्रधानाध्यापक देवकोटाले भन्नुभयो ।

प्रत्येक वडा कार्यालयले वडाभित्रका विद्यालयमा गएर बेला बेलामा बालविवाह न्युनिकरणका सन्दर्भमा विभिन्न कार्यक्रम गरेको खण्डमा शुन्यमा नै पु¥याउन सजिलो हुने उहाँको भनाई छ ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा संगिता बस्यालले निबन्ध लेखन लगायतका विभिन्न बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रम हुन थालेपछि विद्यार्थीमा उमेर नपुग्दै विवाह गर्नु हुदैन भन्नेमा सबै सचेत रहन थालेको बताउनुहुन्छ ।

यस्ता सचेतनामुलक कार्यक्रम बेला बेलामा सञ्चालन गरी विद्यार्थीलाई नै सचेत गरायो भने बालविवाह कम हुदै जाने अर्का छात्रा सुप्रिया गैरेले बताउनुभयो ।

वडाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रति विद्यार्थी एक हजार पाँच सयका दरले स्वास्थ्यप्रवद्र्धन पौष्टिक सामग्री पुरस्कारका रुपमा दिने गरेको छ ।

वडा कार्यालयबाट गरिएको कार्यक्रम असाध्यै राम्रो र बालविवाह न्युनिकरण गर्न सहयोगीमुलक रहेको नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्रप्रसाद भट्टराईले बताउनुभयो ।

बालविवाह बढी हुने समुदायका अभिभावक, विद्यार्थीलाई नै सँगै राखेर सचेतनामुलक कार्यक्रम गरेमा झन् प्रभावकारी बन्ने उहाँको भनाई छ ।

“शिक्षकले कक्षाकोठामा पढाउँदा बालविवाह गर्नुहुन्न भनेर शिक्षा दिएपनि अझैपनि जनजाती, आदिवासी, दलित समुदायमा यदाकदा कायमै छ, वडा कार्यालयले विद्यालयमा गएर बालविवाह न्युनिकरण अभियान चलाउन थालेपछि केही हदसम्म कमी आउन थालेको छ” – उहाँले अनुभव सुनाउनुभयो ।

अझैपनि अभिभावकमा उमेर नपुग्दै छोराछोरीको विवाह गर्नुहुन्न भन्ने मानसिकतामा परिवर्तन नआउँदा पनि बालविवाहको दरलाई शुन्यमा पु¥याउन सकिएको छैन ।

SHARE