रामपुर सदावर्तका युवा बिनोद श्रेष्ठ पशुपालनबाट मासिक एक लाखको दुध बिक्रि गर्दै

0
967

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ फागुन ः धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाहरुको लहर बढ्दो छ । गाउँमा बसेर पशुपालन तथा तरकारी व्यवसाय सकभर कोही तयार हुदैनन् ।

वैदेशिक रोजगारमा धेरै युवाको आकर्षण बढीरहेका बेला रामपुर नगरपालिका ४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दुध बिक्रि गरेर मनग्य कमाई गर्न थाल्नुभएको छ ।

व्यवसायिक रुपमा उन्नत जातका भैसी तथा गाईबाट दुध बिक्रि गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्नुहुन्छ । उहाँले डेढ वर्ष अघि देखि व्यवसाय संचालन गर्नुभएको हो ।

“दुध बिक्रिबाट एक महिनामा दुई लाख सम्म कमाई हुन्छ, खर्च कटाएर रु एक लाख नाफा लिएको छु, पशुपालनमा लगानी अनुसार मेहनत गरियो भने कमाई राम्रै हुने रहेछ” श्रेष्ठले भन्नुभयो ।

दश वर्ष सम्म हेल्थ एण्ड रिसर्च सेन्टरमा काम गर्नुभएका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लाग्नुभएको हो ।

“प्रोजेक्टमा रहेर बिशेष गररी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घर घरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने ईच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु” उहाँले भन्नुभयो ।

उहाँको फार्ममा हाल नौ उन्नत जातका भैसीमध्ये छ वटा दुहुना भैसीबाट ५० लिटर, आठ वटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दुध उत्पादन गरी घर घरमा बिक्रि गर्नुहुन्छ ।

उहाँको फार्ममा उत्पादित दुध बजार लैजान नपाउँदै घर घरमा ग्राहकले लिने गरेका छन् । भैसीको प्रतिलिटर रु ८५ र गाईको ७५ मा दुध बिक्रि भइरहेको छ ।

फार्म व्यवस्थापनमा रु २५ लाख र गाईभैसी खरिदमा रु २० लाख लगानी परेको छ । उहाँले व्यवसाय बढाउने सोँच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गर्नुभएको छ ।

व्यवसायलाई बढाएर ५० वटा भैसी र गाई पु¥याउने र त्यसबाट मासिक रु सात लाख सम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दुध भन्दा बढी भैसीको दुध मन पराउने हुदा भैसीको सङ्ख्या बढाउने उहाँ बताउनुहुन्छ ।

“ग्राहकले भैसीको दुध बढी खोज्ने हुदा गाईबाट भन्दा भैसीबाटै राम्रो आम्दानी देखिएको छ, गाईका बाच्छाबाच्छी हुर्काउन पनि समस्या हुने हुदा भैसीपालन व्यवसायलाई बढी जोड दिएको छु” श्रेष्ठको भनाई छ ।

यहीँ व्यवसायबाट पाँच जनालाई रोजगार समेत दिनुभएको छ । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाउनुभएको छ भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ ।

प्रोजेक्टमा रहदा राम्रै कमाउने श्रेष्ठले आफै व्यवसाय गरी अरुलाई पनि रोजगार दिने गरी संचालन गरेको व्यवसाय अहिले अवलोकन गर्न जानेको आकर्षण छ । आफ्नै करिव दुई रोपनी जग्गामा व्यवसाय चलाउनुभएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ ।

लाखौँ रकम खर्चेर वैदेशिक रोजगारमा जानेको लहर बढ्दैछ । गाउँमा बसेर पशुपालन तथा तरकारी व्यवसायमा लगानी गर्न सकेसम्म कोही तप्पर हुदैन । श्रेष्ठले व्यवसाय थालेको छोटो समयमा नै रामपुरमा राम्रो परिचय बनाउन सफल हुनुभएको छ ।

SHARE