होलीको मौलिकता हराउँदै

0
870

सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ फागुन  : रंगैरंग खुशीयालीका रुपमा मनाइने होलीपर्व अर्थात् फागु पूर्णिमा पर्वको मौलिकता हराउँदै गएको छ । गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागु पूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउदै जान थालेको हो ।

आधुनिकताको बढ्दो प्रभाव र पाश्चात्य ढंगका रितिरिवाज, संस्कृतीले नेपाली मौलिक संस्कृती होली पर्वको मौलिकता नै हराउन पुगेको छ ।

होली पर्वलाई खुशीयाली र पारस्परिक मित्रता बृद्धि गर्न मनाउने गरिन्छ । पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा कृत्रिमता, आडम्बरीपन देखिन थालेको छ ।

मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहंकारपन देखिएको छ । यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ ।

मौलिकताको नाममा समय अनुसार परिवर्तन हुनु स्वभाविक हो तर परिवर्तन गर्ने क्रममा पुराना मौलिक संस्कार संस्कृतीलाई नै खलबल पु¥याउन नहुने शहीद बहुमुखी क्याम्पस रामपुरका नेपाली भाषाका प्रध्यापक दयाराम भट्टराई बताउनुहुन्छ ।

“होली पर्व मनाउने क्रममा धेरै विकृती बिसंगती समाजमा भित्रिएका छन्, यसले गर्दा झै झगडा, आडम्बरीपनको सिर्जना भएको छ, हिजो होलीमा सहभागी व्यक्ति आफैले मौलिक बाद्यबादनका सामग्री प्रयोग गर्थे भने अहिले आधुनिक बाद्यबादनका सामग्रीको प्रयोग हुन थालेको छ” प्रध्यापक भट्टराईले भन्नुभयो ।

मौलिक संस्कृती, भाषाभाषी, भेषभुषा, परम्परा श्राद्ध सम्मानप्रति सबैको विचार आउनुपर्ने उहाँको तर्क छ । परम्परागत संस्कृतीको महत्व, महिमाको प्रचार प्रसार नहुदा पनि मौलिक संस्कृती धरापमा परेका छन् ।

लोक संस्कृतीको क्षेत्रमा रम्ने र रमाउनेहरुलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतीको जगेर्ना गर्न सकिने प्रध्यापक भट्टराईले सुझाव दिनुभएको छ ।

नयाँ पुस्तालाई पनि मौलिक संस्कृतीको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतीको जगेर्ना गर्न सकिन्छ ।

गाउँघरमा साथीभाई, आफन्त जम्मा भई घर घरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको छ । मौलिक परम्परा, संस्कार संस्कृती भन्दा माथि उठेर भड्कीलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृतीहरु हराउन थालेका हुन् ।

होली आउनु एक दुई दिन अगाडी नै मादल, झ्याली लगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाँच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ ।

रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभ लगायत विभिन्न प्रबिधिको प्रयोग गरी रंग रमाईलोका लागि मात्र नाच्ने गरिन्छ । यस पर्वलाई बिशेष गरी शहर बजारमा साथीभाई, आफन्त बिच रंग खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको बिशेष मौलिकता नै हराउन पुगेकोमा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् ।

शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले गर्दा पनि होलीको परम्परागत महत्व रौनकता हराउदै गएको छ ।

गाउँघरमा साथीभाई जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्याली लगायतका बाद्यबादनका सामाग्री बजाउने, कोही नाचेर रमाइलो संग होली खेले प्रचलन थियो ।

पहिले मनाइने र अहिले मनाइने होली अर्थात् फागु पूर्णिमा संस्कृतीमा धेरै भिन्नता देखिन थालेको सामाजिक क्षेत्रमा अग्रसर महिला शिवकुमारी वाग्ले बताउनुहुन्छ ।

“हिजोको दिनमा संस्कृती संरक्षण गर्न परम्परागत ढंगले होली खेलिन्थ्यो भने आज होली खेल्नेहरु कतिपयलाई होलीको महत्व नै थाहा छैन, क्षणिक रंग रमाइलोका लागि मात्र होली खेल्ने पनि छन्, यसले मौलिक संस्कृतीलाई नै असर पारिरहेको छ” वाग्लेले भन्नुभयो ।

मौलिक संस्कृती परिवर्तन हुदै गएको छ भने अर्कोतर्फ अर्काको देखासिकी र खर्चिलो बन्दै गएको छ । पर्व मनाउने क्रममा तडक भडक गर्दा समाजमा बिकृती बिसंगती भित्रिन थालेको छ ।

SHARE