निस्दीखोला मसानेघाट पक्की पुलको शिलन्यास

0
577

सुशिला रेग्मी
फागुन १६ ,२०७६ पाल्पा :  पाल्पा जिल्लाको रामपुर, किर्तिपुर, सहलकोट हुँदै नवलपुरको झ्यालबास जोड्ने सडक खण्डको निस्दीखोलामा पक्की पुलको एक कार्यक्रमका बिच शिलन्यास भएको छ ।
प्रदेश पाँच भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा निर्माण हुन लागेको रामपुर नगरपालिका १ र ३ जोड्ने निस्दीखोला मसानेघाट पक्की पुलको शुक्रबार शिलन्यास गरिएको हो । पुलको प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र पूर्व मन्त्री एवं संघीय सांसद दल बहादुर रानाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । पुलको शिलन्यास गर्दै मन्त्री चौधरी र सांसद रानाले अब बजेट अभावमा पूर्वाधार निर्माणका काम नरोकिने बताएका छन् । उनिहरुले बजेट नभए पनि छिटो प्राविधिक सल्लाह दिने व्यवस्था र नियमनलाई दुरुस्त राखिने काम भएकाले पूर्वाधार निर्माणका काम नरोकिने प्रतिवद्धता जनाएका हुन् ।

प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले प्रदेश सरकार आए संगै जनताले विकासको प्रत्यक्ष अनुभूति गरेको बताए । प्रदेश सरकार आए संगै विकासले गति लिएको उल्लेख गर्दै उनले भने, ‘पहिले पनि विकास नभएको होइन । तर समयमा अनुगमन, प्राविधिक सल्लाह तथा रकम निकासा नहुँदा विकासमा ढिलो हुने गरेको हो ।’ उनले प्रदेशमा संघको तुलनामा बजेट नभए पनि छिटो प्राविधिक सल्लाह दिने व्यवस्था र नियमनलाई दुरुस्त राखिने हुनाले अब विकासका कार्य अघि बढ्ने बताए । मन्त्री चौधरीले पाल्पामा निस्दीखोला सहित अन्य ठाउँमा ५ वटा पुलनिर्माणको कार्यान्वयनमा अघि बढेको बताए । पूर्व मन्त्री एवं संघीय सांसद रानाले १२ वर्ष पछिको प्रयासले बल्ल सार्थक रुप प्राप्त गरेको बताए । रानाले निस्दी खोलाको पुलसंगै अब रामपुर पन्थे, सहलकोट, झ्यालवास सडकलाई सुधार गर्न अब प्रदेशले ध्यान दिन आग्रह गरे । उनले रामपुर ३ र निस्दी २ लाई जोड्ने पुल पनि प्रक्रियामा रहेको बताए ।

पछिल्लो समय सरकारले विकासलाई तिव्रगतिमा अघि बढाए पनि नकरात्मक भ्रम फैलाएको प्रति रानाले दुःख व्यक्त गरे । रानाले भने,‘सामाजिक सञ्जालमा सरकार र जनप्रतिनिधीले कामै गरेनन्, भ्रष्ट भए भन्ने गरेको टिकाटिप्पणी देखिन्छ । वास्तविकता पनि हेर्नु प¥यो नि रु विकास नभएको कहाँ हो र रु एकले गल्ती ग¥यो भन्दैमा सबैमाथि दोष थुपार्न त भएन नि रु’ रानाले संघ र प्रदेशले अघि बढाएका योजनाहरुको बारेमा जानकारी दिए । प्रदेश ५ का सांसद युवराज खनालले संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणलाई अघि बढाएको भन्दै विकास निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले योजनाहरुको निगरानी पनि आवश्यक रहेको बताए । खनालले पुल निर्माण पश्चात स्थानीयहरुलाई थप सहज हुने बताए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरले आफ्नो स्रोत र साधनले भ्यायसम्म विकासमा ध्यान दिएको बताए । थापाले नगरपालिका पुर्वाधार संगै पर्यटन विकासलाई प्रथामिकतामा राखेर अघि बढेको धारणा व्यक्त गरे । प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले ६२ दशमलव ९५ मिटर लामो पुल ८ करोड ५४ लाख ३३ हजार ५ सय ८१ रुपैयाँ अनुमानित लागत मध्ये इलाइट निर्माण कम्पनीले ८ करोड १२ लाख २५ हजार ६ सय ४३ को लागतमा सम्झौता गरेको बताए । गत फागुन १२ मा सम्झौता भएको पुल २४ महिनामा सकिने बताए । पुल नयाँ प्रविधि अनुसार निर्माण हुने पुलको चौडाई ११ मिटर रहने छ । कार्यक्रममा निर्माण व्यवसायी श्याम केसीले निर्धारित समयमा नै निर्माण गरिने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलको स्वागत र रामपुर ३ का वडा अध्यक्ष दिनेश कुमार खनालको सञ्चालनमा भएको थियो । निस्दी खोलामा पुल नहुँदा रामपुर १, निस्दी १, २ र ३ का स्थानीयहरु प्रत्यक्ष मारमा परेका छन् । पुल निमार्ण भएपछि भने स्थानीयलाई सहज हुने छ ।

SHARE