रामपुरको कालिका आधारभुतमा एकै पटक ४४ जनाद्धारा अक्षयकोष स्थापना

0
884

सुशीला रेग्मी

फागुन १, पाल्पा :कालिका आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ४ पाल्पामा अक्षयकोष स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष एकबहादुर नेपाली रहनुभएको हो । प्रमुख अतिथि वडा अध्यक्ष नेपालीले विद्यालयको शैक्षिक विकासका लागि जुन उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ सोही अनुसार प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

प्रधानाध्यापक सोमबहादुर सेनले विद्यालयलाई माया गरेर स्थापना गर्नुभएको अक्षयकोषबाट गरिव जेहेन्दार विपन्न, दलित विद्यार्थीको पठनपाठनमा त्यसको व्याजबाट सहयोग गर्ने जानकारी दिनुभएको छ ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, पुर्व प्राधानाध्यापक तथा अक्षयकोषदाता कृष्णप्रसाद पंगेनी, वडा सदस्यहरु पार्वती परियार, मकबुल मिया, अक्षयकोषदाता अस्गर अलिमिया, अभिभावक सुर्यप्रसाद श्रेष्ठ लगायतले बोल्दै विद्यालयको प्रगतिको कामना गर्नुभएको छ । अभिभावक श्रेष्ठले विद्यालयलाई आधा दर्जन कुर्ची सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

अक्षयकोष स्थापना गर्ने ४४ जना अक्षयकोषदातालाई विद्यालयले सम्मान गरेको छ । विद्यालयमा करिव आठ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । यो पूर्वी पाल्पाकै नमुना कार्यका रुपमा एकै पटक धेरै जनाले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्नुभएको छ ।

अक्षयकोषको व्याज रकमबाट गरिव, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी भएका छन् ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक संघले अक्षयकोष अभियान गाउँ गाउँमा चलाएपछि स्वतः फुर्त रुपमा खुशी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्नुभएको हो ।

भौतिक पूर्वाधारमा झट्ट विकास नहुदा विद्यालय सहयोगमा कसैको पनि चासो थिएन । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, गाउँवासी जुटेर विभिन्न संघ संस्था, जापानी संस्था संग समन्वय र सहकार्य गरी अहिले पूर्वाधारमा अगाडी बढेको छ ।

पहिला यो विद्यालय रामपुर नगरपालिकाको केन्द्र नजिकै भएपनि बत्तिमुनिको अध्याँरो जस्तै थियो । अहिले भने विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ । हाल विद्यालयमा पाँच हजार देखि ५० हजार सम्मका अक्षयकोष स्थापना भएका छन् ।

वार्षिक परीक्षा २०७५ र २०७६ को अर्धवार्षिक परिक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रम संचालन शिक्षक रामबहादुर रानाले गर्नुभएको हो ।

SHARE