रामपुर साकोसले तालिम दिएपछि ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै

0
1706

 

सुशीला रेग्मी

रामपुर (पाल्पा) १ फागुन ः पाल्पा रामपुरका महिलाहरु ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर वचत तथा ऋण सहकारीले ढाका कपडा सिलाई तालिम दिएपछि अहिले महिलाहरु ढाका कपडा सिलाएर आत्मनिर्भर हुन थालेका हुन् ।

सहकारीले तालिम दिएपछि रामपुर बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्नुहुन्छ । उहाँले लेडिज तथा जेन्स, बच्चाका विभिन्न आइटमका ढाका कपडा सिलाउने गरेको बताउनुभयो । बेरोजगार बसेका महिलाहरुलाई सहकारीबाट तालिम पाएपछि रोजगार बनाएको उहाँको भनाई छ ।

“पहिला न जागिर न व्यापार, दुई चार पैसाका लागि अरुकै भर पर्नुपर्ने अवस्था थियो, अहिले त आफैले व्यवसाय गरेपछि अन्यत्र आश्रित हुनु परेको छैन” उहाँले भन्नुभयो ।

ढाका कपडा सिलाएर उहाँले मासिक रु २० हजार आम्दानी गर्नुहुन्छ । यसैबाट घरखर्च, छोराछोरीको पढाई खर्च चलेको छ ।

सहकारीले दुई पटक सम्म गरी २० जना महिलाहरुलाई चार महिनाको तालिम उपलब्ध गराएपछि महिलाहरु व्यवसायमा अग्रसर भएर लागेका छन् ।

पहिला देखि नै सिलाई कटाईको काम गर्दै आउनुभएकी इन्दु परियार ढाका कपडाको तालिम पाएपछि पेशालाई व्यवसायिक तवरले अगाडी बढाउनुभएको छ । तालिम पश्चात् अहिले व्यवसायिक रुपमा पसल संचालन गरी आफु मात्र नभई चार जनालाई रोजगार समेत दिएको परियारको भनाई छ ।

“केही गर्न खोज्ने महिलाहरुलाई सहकारीले सीपमुलक तालिम दिएर राम्रो गरेको छ, ढाका कपडाका सबैजसो माग अनुसार कपडा सिलाउँछु, ढाका कपडा मात्र नभई अरु कपडा सिलाईको काम सबै गर्ने गरेको छु” परियारले भन्नुभयो ।

सहकारीले व्यवसायिक बनाउन रामपुरका २० जना महिलाहरुलाई ढाका कपडा सिलाई तालिम तथा एक एक वटा मेशिन समेत उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

“महिलाहरुलाई व्यवसायिक बनाउन सहकारीले दिएको सीपमुलक तालिमबाट उहाँहरुले अहिले राम्रै गर्नुभएको छ, कतिपयले बजारमा नै पसल चलाउनुभएको छ भने कतिपयले घरको कामधन्दा संगै घरमै बसेर पनि ढाका कपडा सिलाउने गर्नुभएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

व्यवसाय गर्न सोँच बनाएका तर सीप नपाएर बेरोजगार बनेका महिलाहरु सहकारीमार्फत सीपमुलक तालिम पाएपछि उत्साहका साथ व्यवसायमा लागेका छन् । रामपुरमा नै ढाका कपडाका विभिन्न आइटम उत्पादन हुन थालेपछि अहिले माग बढ्दो रहेको यसमा संलग्न महिलाहरु बताउँछन् ।

सदरमुकाम तानसेनबाट ढाकाको कपडा खरिद महिलाहरुले व्यवसाय चलाउने गरेका छन् । रामपुर क्षेत्रमा बिशेष गरी झोला, हाते पर्स, आस्कोट, चोलीहरु, बच्चाका लागि दौरा सुरुवालको बढी माग आउने गरेको छ ।

रामपुर घुम्न आएका व्यक्तिहरुले ढाकाको कपडाबाट उत्पादित सामान कोशेलीका रुपमा लैजाने गरेका छन् । पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपरासी चार जिल्लाको संगमस्थल रहेको रामपुर बजारमा ढाका कपडाबाट उत्पादित सामग्री बिशेष आकर्षणका रुपमा रहेको छ ।

व्यवसाय कम बजार बढ्दो भएकाले ग्राहकको माग अनुसार पु¥याउन व्यवसायिलाई समस्या छ । रामपुरमा नै ढाका कपडा उत्पादन गर्ने उद्योग भएको खण्डमा ढाका कपडा व्यवसाय अझ बढ्नेछ ।

SHARE