पाल्पा महोत्सव’ को तयारी पूरा

0
416

माघ २८, २०७६ पाल्पा : आगामी फागुन १ गतेदेखि जिल्लाको सदरमुकाम तानसेनमा हुन लागेको ‘पाल्पा महोत्सव’को तयारी पूरा भएको छ। पाल्पा व्यापार संघको आयोजनामा बिहीबारदेखि तानसेन नगरपालिका(९ मदनपोखराको माडिस्थित दमकडामा महोत्सव हुन लागेको हो। जिल्लामै पहिलो पटक यति ठूलो महोत्सव ग्रामीण भेगमा सञ्चालन हुने भएको छ। महोत्सवको तयारी पूरा भएको संघले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

‘पाल्पाको समृद्धिको आधार स् कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका सञ्चालन हुन लागेको पाल्पा महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्धाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए। महोत्सवमा २ सय ७५ वटा स्टल रहने छन्। उनका अनुसार पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टलमा राखिने छन्।

जिल्ला र यहाँका नागरिकको आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सवले टेवा पुग्ने आयोजकको दावी छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय वस्तु, सेवा र पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचारप्रसार, बजार प्रवद्र्धन एवम् उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहित गर्ने अध्यक्ष पोखरेलले बताए। लोपन्मुख जातजातिका कला सँस्कृति झल्किने प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकारको समेत दैनीक प्रस्तुती रहने छ।

यस्तै, महोत्सवमा स्थानीय संस्कृति झल्किने घाटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताए। झण्डै तीन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ। करिब ७० लाख आम्दानी हुने छ। ४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताए। महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निस्शुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले बताए।
थाहाबाट

SHARE