सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ माघ :धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका ७ बस्ने कृषक मनोरथ भट्टराईले कागती खेती सुरु गर्नुभएको छ ।
अन्नबालीको तुलनामा कागती खेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यवसायिक तवरले कागती लगाउनुभएको छ । करिव सात रोपनी क्षेत्रफलमा चार सय बोट कागती लगाउनुभएको छ ।
“राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोँच बनाएको छु” भट्टराईले भन्नुभयो ।
बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यवसायिक तवरले कागती लगाउनुभएको हो । चार वर्ष अघि देखि कागती खेती सुरु गर्नुभएका भट्टराईले अब एक सय बोट थप गरी पाँच सय बोट पु¥याउने लक्ष्य लिनुभएको छ ।
कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालिन सम्म आयस्रोत लिन कागती लगाउन थालेको उहाँले बताउनुभयो ।
“राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फलेपनि पाँच सय बोटबाट वर्षमा कम्तिमा पनि सजिलो संग दश लाख त कमाउन सकिन्छ” उहाँले भन्नुभयो ।
उहाँले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरी अहिले कागती लगाएर हरियाली बनाउनुभएको छ ।
रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका विरुवा उपलब्ध गराउन थालेपछि कागती खेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सुचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ मा स्थानीय जातका तीन हजार पाँच सय, सुनकागती एक हजार पाँच सय विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सुचना अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करिव दुई दर्जन जति कृषक कागती खेतीमा आबद्ध रहेका छन् ।
कागती भित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिन्छ । बजारमा कागतीको मुल्य बढ्दो रहेको हुदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।