पत्रकार सम्मेलन मार्फत गौशाला सहयोगार्थ महायज्ञबारे जानकारी

0
697

सुशीला रेग्मी

माघ २७, पाल्पा :पाल्पाको रामपुर नगरपालिकामा संचालन हुन गइरहेको श्रीमद भागवत नवाह ज्ञान महायज्ञको तयारीको सम्बन्धमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा निर्माणाधिन अवस्थामा रहेको गौशालाको भौतिक पूर्वाधार विकासमा सहयोग जुटाउने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मुल आयोजक समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले महायज्ञको तयारी सम्बन्धमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो । आउदो फागुन १२ गते देखि २० गते सम्म संचालन हुने महायज्ञ अवधीभर रु पाँच करोड दान संकलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दीगो विकासका लागि प्रयोग गरिनेछ” उहाँले भन्नुभयो ।

यत्रतत्र तरिएर रहेका गाईलाई संरक्षण गर्न गौशाला निर्माण कार्य सुरु गरिएको हो । गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा रु २० लाख र आर्थिक वर्ष ०७६÷०७७ मा रु २० लाख रकम विनियोजन गरी भौतिक संरचना निर्माणका कामहरु भइरहेको छ । महायज्ञको प्रचार प्रसारको कामलाई तीव्र रुपमा अगाडी बढाइएको प्रचार प्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताउनुभयो ।

“सबै संचार माध्यम तथा विभिन्न स्थानमा महायज्ञका सन्दर्भमा जानकारी गराउने काम तीव्र रुपमा भइरहेको छ, सबै उपसमितिले आ आफ्नो जिम्मेवारी अनुसार निरन्तर खटेर काम गरिराख्नु भएको छ” उहाँले भन्नुभयो ।

हाललाई भने गौशाला सम्पन्न नहुदा सम्मका लागि साउनबाट यता वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर गाईहरु संरक्षण गरेर राखिएको छ । रामपुर नगरपालिका क्षेत्रमा छाडा गाईले कृषकका खेतबारीमा पुगेर अन्नबाली खाएर सताउन थालेपछि नगरपालिकाले यसको व्यवस्थानका लागि गौशाला निर्माणमा प्राथमिकता दिएको हो । करिव पन्ध्र रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । पत्रकार सम्मेलनको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

SHARE