रामपुरमा आयातित तरकारी निरुत्साहित अभियान : वडा नं ७ मा एक घर पाँच विरुवा

0
1049

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ माघ : पाल्पाको रामपुर नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादनमा जोड दिइएको छ । नगरका दशवटा वडामा फरक फरक तरकारी पकेट क्षेत्र छनौट गरी एक वडा एक उत्पादन अनुसार तरकारी लगाउन थालिएको छ ।

नगरको वडा नं ७ ले एक घर पाँच तरकारीका विरुवा अभियान सुरु गरेको छ । एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत करेला र घिरौला खेतीलाई प्राथमिकता दिएर प्रत्येक घरमा पाँच÷पाँच बोट तरकारी विरुवा उत्पादन कार्यक्रम संचालन गरेको हो ।

नगरलाई आत्मनिर्भर बनाउन १४ टोल विकास संस्थामार्फत आठ सय ३१ घरधुरीमा करेला र घिरौलाका वीउ वितरण गरेको कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतम बताउनुहुन्छ ।

“नगरको एक वडा एक उत्पादन कार्यक्रममार्फत हामीले करेला र घिरौला खेती अवलम्वन गरेका छौँ, वडामा बसोबास गर्ने सबै नागरिकको घर घरमा पाँच÷पाँच विरुवा करेला र घिरौला लगाउन वीउ विजन वितरण गरेका छौँ” उहाँले भन्नुभयो ।

वडाले एक घर पाँच विरुवा अभियान सुरु गरेपछि वडावासी उत्साहित भएका छन् । करेला घिरौलालाई पकेट क्षेत्रका रुपमा विकास गर्न वडाले यस कार्यक्रमका लागि यो वर्ष रु तीन लाख वजेट विनियोजन गरेको सहायक वडा सचिव गिता पौडेलले बताउनुभयो ।

“वडाले कृषकको चाहना अनुसार वीउ विजन वितरण, आवश्यक प्राबिधिक सेवा दिन थालेपछि वडामा तरकारी खेती नगर्ने नागरिकले पनि अहिले कृषि कार्य गर्न सुरु गरेको पाइएको छ” पौडेलले भन्नुभयो ।

वडाले किसानबारी टोल विकास समितिमा एक सय तीन, बगरचोक टोल विकास समितिमा ३५, मौलाकालिका टोल विकास समितिमा ६९, सर्पराज टोल विकास समितिमा ४२, बाहुनडाँडा टोल विकास समितिमा २६, मलेङ्ग टोल विकास समितिमा ४०, डिबिजि टोल विकास समितिमा ३२, कठान टोल विकास समितिमा ६९ घरधुरी छ ।

त्यस्तै कवर्डहल टोल विकास समितिमा ८०, मजुवा टोल विकास समितिमा ८५, मिलन टोल विकास समितिमा ८३, रातमाटा टोल विकास समितिमा ५५, कालिका टोल विकास समितिमा ५९, शित्तलनगर टोल विकास समितिमा ५४ घरधुरीलाई एक घर एक विरुवा लगाउन विउ विजन वितरण गरेको छ ।

वडाले उपलब्ध गराएको वीउ विजन एकै ठाउँमा विरुवा उत्पादन गरी प्रत्येकका घर घरमा वितरण गर्ने योजना रहेको मिलनटोल विकास समितिका संयोजक ऋषिराम रेग्मी बताउनुहुन्छ ।

वडाले उपलब्ध गराएको वीउ विजनलाई राम्रो संग उत्पादन गरी वडा तथा नगरलाई करेला तथा घिरौला बालीमा आत्मनिर्भर बनाउने किसानबारी टोल विकास समितिका संयोजक लुकनाथ घिमिरेको भनाई छ ।

वडामा दलित समुदायको बाक्लो वस्ती छ । दलित समुदायलाई माथि उकास्न पनि वडाले तरकारी खेतीमा सहयोग गरिरहेको छ ।

तरकारी खेती गर्न वीउ विजन, कृषिजन्य सामग्री सहयोग गरेपछि दलित समुदायको आर्थिक आयस्तरमा परिवर्तन परिवर्तन आएको कबर्डहल टोल विकास समितिका संयोजक गौतमबहादुर सुनारले बताउनुभयो ।

“पहिला किनेर तरकारी खाने नागरिकहरु अहिले आफैले घर घरमा तरकारी उत्पादन गरी घरलाई पु¥याउन सफल भएका छन्, दलित समुदायमा जनप्रतिनिधि आएपछि ठुलो परिवर्तन आएको छ” सुनारले भन्नुभयो ।

वडा कार्यालयले दलित समुदायलाई लक्षित गरी विभिन्न जातका तरकारीका वीउ विजन, सामग्री वितरण, कृषि अवलोकन भ्रमण, तालिम, गोष्ठीहरु संचालन गरिरहेको छ । यस कार्यले पनि यहाँका दलित समुदायमा हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ ।

नगरपालिकाले गत पुष १ गते देखि बाहिरबाट आउने तरकारी उत्पादनलाई कम गर्न निरुत्साहित अभियान संचालन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“कृषिबाटै नगरलाई आत्मनिर्भर बनाउन युवालाई व्यवसाय गर्न व्याज अनुदान रकम उपलब्ध गराएका छौँ, बाहिरबाट आउने तरकारी कम गरी यहीँको उत्पादनले बजार धान्न कृषक प्रोत्साहनमुखी कार्यक्रममा नगरले जोड दिएको छ” नगर प्रमुख थापाले भन्नुभयो ।

कृषि शाखा कार्यालय रामपुरले नगरका सबै वडा वडामा पुगेर तरकारी लगाउने नयाँ प्रबिधि कृषकलाई सिकाउने गरेको शाखा प्रमुख तथा नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले बताउनुभयो । अहिले यो अभियान नगरले सुरु गरेपछि सबै वडामा एक वडा एक उत्पादनका कार्यक्रम सुरु भएका छन् ।

SHARE