पाल्पाको माथागढीमा कर्मचारी अभावमा कामकाजमा समस्या

0
1119

सुशीला रेग्मी

रामपुर (पाल्पा), २४ माघ  : पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ ।

गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई जना, पाँचौ तहका सात जना, चौथो तहका पाँच जना गरी १४ जना र प्राविधिकतर्फ इन्जिनियर एक जना, सवईन्जिनियर पाँचौ चार जना, सहायक सवईन्जिनियर चौथो छ जना गरी ११ जनाको दरबन्दी खाली छ ।

गाउँपालिकाका आठ वटा वडामध्ये एक वटा वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ । यसले गर्दाका वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ ।

प्रशासनमा रहेका एक जना खरिदार संघमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकामा ३५ जना दरवन्दी रहेपनि चार जना मात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारक देखि सेवाग्राहीका काममा समस्या परेको छ ।

गाउँपालिकामा लेखा शाखामा अधिकृत सहित चार जनाको दरवन्दी छ । तर एक जना पनि कर्मचारी नहुँदा कारोबार बन्द जस्तै बनेको छ । गत पुषमहिना देखि आर्थिक कारोवार समेत ठप्प भएको छ ।

शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन् । सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुदा पशु शाखा र कृषि शाखाबाट हुने कामहरु राम्रो संग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ ।

कर्मचारीको दरबन्दी रहेपनि न्युन कर्मचारी हुदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ ।

“गाउँपालिकामा कार्यरत कर्मचारी समायोजन भएर अन्यत्र जाने र धेरैजसो शाखा खाली रहदा जुन गतिमा काम हुनुपर्ने हो सो अनुसार गर्न कर्मचारी नहुदा समस्या परिहेको छ, यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराइएको छ” अध्यक्ष मगरले भन्नुभयो ।

सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटक पटक माग गरेपनि सुनुवाई नभएको अध्यक्ष मगरको भनाई छ ।

कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन् । योजनाका कामहरु गर्न, फरफारक देखि विभिन्न कार्यहरु गर्न समस्या परिरहेको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताउनुभयो ।

“कार्यालयमा कर्मचारी अभावले नागरिकलाई सहज सेवा दिन पाइएको छैन, प्रदेश र संघमा कर्मचारी माग गरिएपनि पदपूर्ति नहुदा काममा समस्या परेको छ, सेवाग्राहीले पनि सहज सेवा नपाएकोा गुनासो गरिहनुभएको छ” उहाँले भन्नुभयो ।

गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिकहरु कर्मचारी अभावका कारणले पटक पटक कार्यालयमा धाउनु परेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेपनि स्थानीय तहमा कर्मचारी समस्याले कामकाजमा समस्या परिरहेको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारी संघ र प्रदेशमा समायोजन भएर जान थालेपछि स्थानीय तहका विभिन्न शाखा कार्यालयहरु खाली बनेका छन् ।

SHARE