ताजा तरकारीले जीवनशैली फेर्ने योजनामा ठुलोलुम्पेकका महिलाहरु

0
121
प्लाष्टिक टनेट वितरण पश्चात लिइएको सामुहिक तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार १६,२०८१ गुल्मीः सत्यवती गाउँपालिका तीन ठुलोलुम्पेकका महिलाहरुले ताजा तरकारी फलाएर जीवनशैली परिवर्तन गर्ने योजनामा रहनुभएको छ । परम्परागत रुपमा तरकारी खेती संगै अन्नबाली लगाउँदै आउनुभएका उहाँहरुले ब्यबसायीक रुपमा ताजा तरकारी खेती गर्ने र आत्म निर्भर बन्ने गरी अगाडि बढेको बताउनुहुन्छ ।

ठुलोलुम्पेकमा १० लाख रुपियाँको प्लाष्टिक टनेल र ताजा तरकारीको बिँउ कृषि ज्ञान केन्द्रले वितरण गरेपछि त्यहाँका महिलाहरुमा आत्म निर्भर बन्ने आत्म विश्वास जागेको हो ।

थुम्का कृषि तथा पशुपालन कृषक समूहमा २१ जना महिलाहरुको समूह रहेको र सबैले बाँसको टनेल घर निर्माण गरेको समूहका अध्यक्ष पूर्णकली तरामुले बताउनुभयो । निर्माण गरेको बाँसको घरमा टमाटर लगाइसकेको बताउनुभयो । अव प्लाष्टिक टनेर राख्ने र ताजा तरकारी पनि फलाउने गरी समूहमा योजना बनाएको उहाँको भनाई छ । बाँसको प्लाष्टिक घरमा टमाटर लगाउँदा घाम पानीले छेक्ने र उत्पादनमा पनि वृद्धि हुने समूहका सदस्यहरुले बताउनुभएको छ ।

गाउँमै रमेर बस्ने र समूहमा ताजा तरकारी फलाएर आर्थिक रुपमा समेत सक्षम बन्ने उहाँहरुको योजना छ । यसका साथै सबै महिलाहरुले समाजको नेतृत्व गर्न सक्ने र ब्यक्तित्व विकास गर्ने गरी आफूहरु सबै अगाडि बढेको उहाँले बताउनुभयो । पहिले आफूहरु अगाडि गएर बोल्न र मनमा लागेका कुराहरु राख्न पनि नसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले अहिले सबै महिलाहरुले स्पस्ट कुराहरु राख्ने र नेतृत्व गर्न सक्ने बन्दै गएको बताउनुभयो ।

यस्तै थानी बहुउद्येश्यीय कृषि तथा पशुपंक्षी समूहका सदस्य जमुना सिंजालीले महिलाहरु आर्थिक रुपमा पनि सक्षम हुने गरी अगाडि बढेको बताउनुभयो । सानो तिनो रकमका लागि श्रीमानको मुख ताक्न नपर्ने र आफूहरु सक्षम हुँदै गएको उहाँले बताउनुभयो । आफूहरुको समूहमा २४ जना महिलाहरु रहेको र सबैले ताजा तरकारी फलाउन लागेको उहाँको दाबी छ ।
सत्यवती गाउँपालिका वडा नम्वर तीनका वडा अध्यक्ष जितु तरामुले महिलाहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउन टनेल खेती गर्ने ब्यबस्था मिलाएको बताउनुभयो । यसबाट गरिवी निवारण पनि गर्न सकिने र ब्यबसायीक बनाउनका लागि थप टेवा पुग्ने उहाँको विश्वास छ ।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले गाउँमै संभावनाहरु धेरै रहेको बताउनुभयो । गाउँमै कृषि र पशुपालनको माध्यमबाट आमूल परिवर्तन गर्न सकिने बताउँदै उहाँले ब्यबसायीक रुपमा काम गर्न आग्रह गर्नुभयो । कृषकले उत्पादन गरेका कृषि उपजलाई बुटवलको हाट बजारमा सटर खोलेर बिक्री वितरण गर्ने ब्यबस्था गरेकाले बजारको समस्या नभएको उहाँले बताउनुभयो । यसका साथै बाँझो जग्गामा टिमुर, चिया, कफी र अलैचीका बिरुवा रोपण गर्नका लागि पालिकाले अनुदानमा बिरुवाको ब्यबस्था गरेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बालीबस्तु विशेष सघन ब्यबसायीक उत्पादन कार्यक्रम मार्फत प्लाष्टिक घर निर्माण तथा सामग्री हस्तान्तरण गरेको बताउनुभयो । उत्पादनमा वृद्धि गर्नुका साथै आत्मनिर्भर बनाउनका लागि एक सय ५५ प्लाष्टिक घर निर्माण भएकाले प्लाष्टिक टनेल र ताजा तरकरीको बिँउ वितरण गरेको बताउनुभयो ।

कूल १० लाख रुपियाँको बजेटबाट उक्त कार्य गरिएको भण्डारीले बताउनुभयो ।

 

 

 

SHARE