कालीगण्डकीले बाँझो जग्गालाई पालिकाको स्वामित्वमा ल्याउने

0
112

तिलाचन पाण्डे
असार ११,२०८१ गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँपालिका भित्रको बाँझो जग्गालाई पालिकाको स्वामित्वमा ल्याउने भएको छ ।

पालिका भित्रको बाँझो जग्गालाई सदुपयोगमा ल्याउन र बाँझो जग्गा नराख्नका लागि पालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम मार्फत थापाले बाँझो जग्गालाई पालिकाले स्वामित्व लिई उपयुक्त कृषि कार्यक्रम सञ्चालन गर्ने र बाँझो रहेको जग्गालाई खनजोत गरी प्रयोगमा ल्याउने कृषकलाई अनुदानको समेत ब्यबस्था गर्ने बताउनुभयो ।

यस्तै सामूहिक कृषि खेति प्रर्णलीलाई प्रोत्साहनका लागि पालिकाले अनुदान दिने,कृषि तथा पशु वीमामा अनुदान, उत्कृष्ट कृषक तथा कृषि समूह पहिचान गरी सम्मान , सुन्तला पकेट क्षेत्रको बिस्तार, सुन्तलाबाट जाम,जुस र जेली तथा सौन्दर्यका सामग्रीहरु बनाउने कार्यलाई प्राथमिकता दिई स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने जस्ता कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको र सोही अनुसारको बजेटको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

यस्तै पालिकाले गर्भवती महिलालाई निःशुल्क र अन्य बिरामीहरुलाई सहुलियत दरमा एम्बुलेन्सको ब्यबस्था गरेको छ । गर्भवती तथा सुत्केरी महिलासंग उपाध्यक्ष कार्यक्रम र छोरी जन्मिदा सहयोग गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा पालिका भित्रका करिब तीन हजार पाँच सय घरधुरीमा एक घर एक धाराको कार्यक्रमलाई सम्पन्न गर्ने गरी नीति लिइएको र सोही अनुसार बजेटको ब्यबस्था गरिएको गिरीले बताउनुभयो ।

पालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि सोमबार करिब ५४ करोड नौ लाख ९५ हजारको बजेट ल्याएको छ । जस अन्र्तगत चालु तर्फ ३८ करोड ६६ लाख ९४ हजार र पुँजीगत तर्फ १५ करोड ४३ लाख तीन हजारको अनुमानित बजेट उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले प्रस्तुत गर्नुभएको छ ।

 

SHARE