कृषकलाई तरकारीका वीउ वितरण

0
990

सुशीला रेग्मी

माघ २२, पाल्पा :

एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत पाल्पा रामपुर नगरपालिकाका कृषकलाई तरकारीका वीउ विजन वितरण गरिएको छ । एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत घिरौला र करेला उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाउन वडा नं ७ को कार्यालयले घिरौला र करेलाका वीउ वितरण गरेको हो ।

पहिलो चरणमा प्रतिघर पाँच वटा करेला र पाँच घिरौलाको विरुवा अनिवार्य रहने गरी विउ वितरण गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्न एक वडा एक उत्पादनमा जोड दिएको बताउनुभयो । विषादीरहित तरकारीले मानव स्वास्थ्यलाई असर गर्ने हुदा स्वस्थ्य तरकारी उत्पादन गरी बिक्रि गर्न कृषकलाई अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले एक वडा एक उत्पादनलाई मध्यनजर गर्दै नगरले कृषिमा प्राथमिकता दिईएको बताउनुभयो । रामपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक प्रज्ज्वल केसी, किसान एग्रोभेटका सञ्चालक सुर्य भट्टराईले तरकारी लगाउने प्रबिधि सन्दर्भमा कृषकलाई जानकारी दिनुभएको छ ।

कवर्डहल टोल विकास समितिका संयोजक गौतमबहादुर सुनारले वडाले कृषिमा प्राथमिकता दिन थालेपछि किनेर खाने स्थानीय अहिले आफैले घर घरमा उत्पादन गरेर तरकारी खान थालेको बताउनुभयो ।

वडा सदस्य कमलराज भट्टराईले स्वागत गर्दै वडा भित्रका १४ टोल विकास संस्थाका आठ सय ३१ घरलाई विउ वितरण गरिएको बताउनुभयो । कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक वडा सचिव गिता पौडेलले गर्नुभएको हो । तरकारीको वीउ पाएपछि वडाका कृषकहरु खुशी भएका छन् ।

SHARE