संस्कृति संरक्षणसँगै आत्मनिर्भर बन्दैँ मदानेका महिला

0
105

तिलाचन पाण्डे

मंसिर १६,२०८०गुल्मी : घरभित्रका चुलोचौकालगायत सबै काम महिलाले गर्ने र घरबाहिरका काम पुरुषले गर्ने भन्ने पुरानो परम्परा अझै पनि कायमै छ। आर्थिक अधिकार पति वा घरमूलीसँग हुने भएकाले राम्रो लगाउन र बजार निस्कन पर्दा अधिकांश महिलाहरुले पतिको मुख ताक्नुपर्ने अवस्था कतिपय परिवारमा अझै पनि छ।

तर गुल्मी मदानेका महिलाहरुले भने यस्ता पछौटे धारणा चिर्दै नौमती बाजा बजाएर संस्कृति संरक्षणमात्र गरेका छैनन् आत्मनिर्भर बनेर समाजमा परिवर्तनको गतिलो उदाहरण प्रस्तुत गरेका छन्।

मेला, पर्व, सभा, समारोहमा विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजा समूहमा सबै महिला हुँदा सबैका नजर महिला समूहतर्फ फर्कन थालेको छ। गुल्मीको मदाने गाउँपालिकामा महिलाहरुको समूहले नौमती बाजा बजाएर अहिले एक दिनको २५ देखि ३५ हजारसम्म आम्दानी गर्न थालेका छन्। छिमेकी पालिकाहरुसहित सदरमुकाम तम्घाससम्म यो समूहले एउटै पोशाकमा सजिएर नौमती बाजा घन्काउने गरेका छन्।

मदाने महिला नौमती बाजा समूहकी अध्यक्ष बसन्ता जिसीले आफूहरुले एक दिन नौमती बजाएवापत २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म लिने गरेको बताइन्।

मदाने महिला नौमती बाजा समूह नामले चिनिने ११ जनाको समूहमा बसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रीमा बिक, पवित्रा बिक, सीता बिक, असिम बिक, जुना नेपाली, रञ्जु नेपाली, रमा बिक र सिर्जना बिक छन्।

महिलाहरु घरभित्रमात्र मात्र सीमित नभई अगाडि बढ्नुपर्छ भनेर आफू समूहमा सामेल भएको सो समूहकी सुस्मिता घर्तीले बताइन्।

आफूले जानेको सीप ठूला ठूला कार्यक्रममा प्रस्तुत गर्न पाउँदा आनन्द लाग्ने गरेको उनी बताउँछिन्। साथसाथै आर्थिक रुपमा पनि सबल बन्दै गएको र आफूलाई लगाउन मन लागेको र मिठोमसिनो खान कसैको मुख ताक्नु नपरेको उनको भनाइ छ।

‘संस्कृति जोगाउन बाजा बजाउन सिक्यौँ’

सोही समूहकी बसन्ता जिसीले धेरैजसो पुरुष विदेशिएकाले गाउँमा उनीहरुको संख्या थोरै भएकाले महिलाले बाजा बजाउन सिकेको बताइन्। गाउँमा पुरुषको संख्या घटेपछि महिलाको समूह बनाएर बाजा बजाउन थालेको उनी बताउँछिन्। पुरानो संस्कृतिलाई लोप हुन नदिन महिलाले वाद्यवादन सिकेको जिसीले बताइन्।

नौमती बाजाको संरक्षण, वाद्यवादनलाई व्यावसायिक बनाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउन पालिका सधैँ साथमा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले बताइन्।

यसका साथै गाउँपालिकाको पहिचानका लागि पनि यसले योगदान गरेकोमा उनले खुशी व्यक्त गरिन्। संस्कृति संरक्षण गर्न नौमती बाजाको जर्गेना गरेको उनको भनाइ छ।

यो महिला समूहलाई नौमती बाजा र तालिमको समेत व्यवस्था पालिकाले गरेको खडकाले बताइन्। समूहलाई आवश्यक पर्ने बजेटका साथै अन्य सहयोग गर्न पालिका पछि नपर्ने प्रतिबद्धता उनले जनाइन्।

SHARE