
साउन ३०२०७९ रुपन्देही : रुपन्देहीको ओमसतियामा एक युवामा गोली प्रहार भएको छ।


ओमसतिया गाउँपालिका वसन्तपुरमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक युवा घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए।
घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ हुन्। मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीनजनाको समूहले गोली हानेको थियो।

उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ। तर अवस्था खतरामुक्त रहेको एसपी रेग्मीको भनाइ छ। गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। गोली चलेको केही बेरअघि एक किलोमिटरको दूरीमा रहेको एक होटलमा पेस्तोल देखाएर लुटपाट भएको थियो।
लुटपाट गर्ने र गोली प्रहार गर्ने एउटै समूह हो कि फरक फरक भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ।