सीमा क्षेत्रमा सुरक्षित छैनन नेपालीहरु

0
212

दिवाकर पोख्रेल
साउन २४,२०७९ देउखुरी: गाउँको थोरै तल दक्षिण तर्फ दशगजा क्षेत्र, जुन क्षेत्रलाई दुई देशको साझा भूमिको रुपमा लिइन्छ । दशगजाको माथि उत्तरतर्फ ठाउँ ठाउँमा स–साना झुप्रा खरले फुसले बारेका घर । ती घरमा बसेर कष्टकर जीवन विताइरहेका नेपाली नेपाल भारत– सिमा क्षेत्रसंग नजिकै भएकाले आफुहरु नाकाबासी भन्न रुचाउँछन भने ठाउँलाई नाका ।

नाका क्षेत्रमा बसोबास गर्नेहरुको भर सबै छिमेकी मूलुक भारतसंग छ । नेपालतर्फ आवतजावत गर्न भरपर्दा सडक छैनन । भएका सडक छ महिना संचालन हुन्छन छ महिना बन्द हुन्छन । भौगोलिक विकट्ताका कारण सडकसंगै अन्य आधारभुत सेवा समेत छैन । उनिहरुलाई दैनिक उपभोगको लागि आवश्यक पर्ने खाद्यान्न लिन पायक पर्ने भनेकै भारतीय बजार नै हुन । नेपाली बजार आउन पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता । यो बाध्यता दाङको राजपुर गाउँपालिका नाका क्षेत्रमा बसोबास गर्नेहरको हो । यति मात्रै होइन भारतीय बजारबाट सहजै रुपमा खाद्यान्न्न लगायतका सरसामाना ल्याउन पनि सहज छैन । जंगलको बाटो हिंडेर जानुपर्ने भारतीय सुरक्षाकर्मी हप्काई,कुटाई सम्म पनि सहनुपर्ने अवस्था ।

दुइहप्ता अघि मात्रै भारतीय बजारबाट फर्कदै गर्दा भारतमा पर्ने जंगलमा दूइजना नेपाली महिला बलत्कृत भए । छ जना महिला मध्ये अन्य चारजनामाथि कुटपीट र लुटपाट समेत भयो । नेपाल र भारतीय सुरक्षा कर्मीको प्रहरीको सकृयतामा दोषिलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अघि बढेको छ । भारतीय नागरिकबाट कुटपीटमा पर्ने मध्येकी राजपुर ६ बैरवा नाकाकी ३० बर्षिय मनि घर्तीले उक्त घटना बिर्सन सक्नुभएको छैन । “अहिलेपनि डर लाग्छ, हामी बजारबाट फर्कदै थियौ,जंगलमा अपरिचत यूवाले संगै रहेका साथिमाथि जवरजस्ती गर्न खोजे म लगायतका साथिहरुलाई कुटपिट गरे ।” घटना सम्झाउँदै उहाँले भन्नुभयो ।

नाका क्षेत्रका नागरिक नै असुरक्षित रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाका निवासी पुना बिकको भनाइ छ । “दैनिक प्रयोगका लागि सामान खरिद गर्न जाँदा भारतीय सुरक्षाकर्मीबाट समयसमयमा सामान लग्न नदीने चेकजाँचको नाममा दुःख दिने त गर्थे,तर भारतीय नागरिक बाट असुरक्षाको महशुस गरेका छौ ।”

नाका क्षेत्रको सुरक्षाको लागि स्थानीय सरकारले पनि पहल भने नगरेको होइन । तर पनि सामान खरिदको लागि सिमा जानुपर्ने बाध्यता नहट्दा सम्म समस्या पूर्ण रुपमा हल नहुने राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यहाँको समस्या भनेकै सडक हो, अब पूर्व पश्चिम सिमा सडकलाई प्रथामिकता दिएर काम गर्नुको विकल्प छैन, सडक भयो भने नेपालमै सर सामान किन्ने अवस्था हुन्छ, जसबाट हाम्रा नेपालीहरु सुरक्षित हुन्छन भन्ने लागेको ।” यस्तै अध्यक्ष बुढाथोकीले दाङको नाका क्षेत्रमा सुरक्षा सम्बन्धि सचेतना दिन पनि आवश्यक रहेको बताउनुहुन्छ ।

सिमा क्षेत्रमा रहेको सुरक्षाको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्याम्पहरु छन । नाका क्षेत्रमा सुरक्षा नेपाल पक्षबाट सुरक्षा अवस्था पनि कडा पार्न खोजिएको छ । तर नेपाली सुरक्षाकर्मीहरु भारतीय भूमिमा गस्तीगर्न नमिल्ने भएकाले समस्या छ । शसस्त्र प्रहरी नं २९ गण भालुवाङका शसस्त्र प्रहरी उपरिक्षक(एस.पी.)विनोद केसीले दाङको नाका क्षेत्रमा नेपली असुरक्षीत रहेको विषयमा आफुहरु पनि गम्भिर रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हाम्रो सक्रियता बढेको छ, भारतीय सुरक्षाकर्मी लाई जंगली क्षेत्रमा गस्ती गर्नको लागि अनौपचारिक आग्रह पनि गरेका छौ,सिमा क्षेत्रमा हुने अन्य असुरक्षा संग सम्बन्धित गतिविधि रोक्न सक्रिय छौ । ”

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सिमा क्षेत्र र सिमाबासीको सुरक्षाको लागि सुरक्षा सर्तकता बढाएको बताउनुभयो । “दाङको नाका क्षेत्र भौगोलिक बिकट्ताले पनि समस्या हो, तर हामी दुई देशका सुरक्षाकर्मीले सयूक्त गस्त गर्ने गरेका छौ,नियमित बैठक पनि बस्ने गरेको छौ ।” सिमा सुरक्षाको लागि शसस्त्र प्रहरीले पाँचवटा बोर्डर आउट पोस्ट (बिओपी) आठबटा फरवार्ड बेस (एफओबी) राखेको छ । दाङको सिमा क्षेत्र पूर्व पश्चिम ८३ किलोमिटर दुरी छ ।

SHARE