लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाबाट उपचार नहुने

0
506

साउन ५,२०७९पाल्पा : पाल्पाको लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमाबाट बिरामीको उपचार नहुने भएको छ। कलेजका प्राचार्य डाक्टर राजु शाक्यले गत मंगलबार राति १२ बजेदेखि यो सेवा बन्द गरेको बताए।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित कार्यक्रम अन्तर्गत बिमा गरेका बिरामीलाई कलेजले २०७३ साल भदौ १ देखि सेवा दिँदै आएको थियो। कलेजले प्रथमविन्दु र रेफरल सेन्टरको रूपमा उपचार सेवा प्रदान गरेको थियो।

नेपाल सरकारको २०७९्०८० को बजेट वक्तव्यमार्फत यही साउन १ गते देखि सरकारी तथा सामुदायिक प्रदायक संस्थाबाट मात्रै बिमाबाट उपचार सेवा उपलब्ध गराउने भनेको छ। सरकारले निजी अस्पताललाई बिमाबाट उपचार सेवा प्रदान गर्न रोक लगाएको छ।

सोही अनुरूप कलेजले ‘रेफरल’ स्वास्थ्य संस्थाको रूपमा उपलब्ध गराउँदै आएको बहिरंग, अन्तरंग, आकस्मिक अन्तर्गत सम्पूर्ण स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको शाक्यले बताए।

‘सरकारको निर्णयबाट सेवा उपलब्ध गराउन नसकिएकोमा सम्पूर्ण स्वास्थ्य बिमित तथा सरोकारवालासँग कलेज दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ। सरकारले निजी स्वास्थ्य संस्थाबाट पनि बिमित बिरामीको उपचार गर्न निर्देशन दिएमा फेरि सेवा सुरु बताइएको छ।

SHARE