सुशीला रेग्मी्
रामपुर (पाल्पा), ८ असार : रामपुर नगरपालिका वडा नं ४ पाल्पाले वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल विकास संस्था अभिमुखीकरण कार्यक्रम गरेको छ ।
वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाको सबैभन्दा राम्रो टोल विकास संस्थाको रुपमा पुरस्कृत हुने गरी काम गर्न टोल विकास समितिलाई अनुरोध गर्नुभएको छ ।
रामपुरलाई नमुना वस्ती विकास गर्ने, देखिन लायकको शहर बनाउने योजना रहेको हुदा यस काममा स्थानीयको सहयोग आवश्यक रहेको नगर प्रमुख थापाले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले टोल विकास समितिको काम, कर्तव्य र अधिकारका सम्बन्धमा जानकारी गराउनुभएको छ ।
कार्यक्रममा रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, नेपाली कांग्रेस वडा सभापति थर्कबहादुर राना, नेकपा एमाले वडा कमिटि अध्यक्ष डिलबहादुर कौशीले बोल्दै वडाको प्राथमिकताको आधारमा विकास निर्माणका विभिन्न काम गर्दै जानुपर्ने बताउनुभयो ।
वडामा १७ वटा टोल विकास संस्था गठन भएको छ । टोल विकास संस्थामार्फत पूर्वाधारतर्फ १०९, सिंचाईतर्फ ९, भवनतर्फ २१, खानेपानीतर्फ २४, सामाजिक विकासतर्फ ५ गरी जम्मा १६८ वटा विभिन्न योजना संकलित भएर वडामा आएका छन् ।
योजनालाई प्राथमिकताको आधारमा नगर कार्यपालिका बैठकले पास गरी नगर सभाले पारित गर्नेछ । वडा सदस्य ताजिम महम्मद अजिम शेखको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव सबिता रानाले गर्नुभएको हो ।