रामपुरमा ब्लकमा लगाइएको मकैबाली अनुगमन

0
348

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ जेठ
पाल्पाको रामपुर नगरपालिका वडा नं ३ रजघरामा दर्छा हरियाली साना किसान कृषि सहकारी सहकारी संस्थामार्फत ब्लकमा लगाइएको मकैबाली अनुगमन गरिएको छ ।

बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराई, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थी, कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्रसार अधिकृत रामसुरत पाल, लेखापाल बालकृष्ण बस्याल, रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, रामपुर कृषि शाखाका प्राबिधिक प्रज्वल केसी लगायतको टोलीले अनुगमन गरेको हो ।

सोही अवसरमा मकै ब्लक विकास सम्बन्धी छलफल कार्यक्रम भएको छ । सहकारीका अध्यक्ष भेषबहादुर वंशीको अध्यक्षतामा कार्यक्रम भएको हो । नगर प्रमुख रमणबहादुर थापाले रामपुरमा मकै ब्लक कार्यक्रमले कृषिमा उत्साह थप्ने बताउनुहुदै यस कार्यक्रमलाई लगानी अनुसार उपलब्धी देखिने गरी अगाडी बढाउन अनुरोध गर्नुभएको छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले पाल्पा जिल्लामै मकै बालीमा रामपुरमा ब्लक कार्यक्रम सञ्चालन भएको जानकारी दिनुहुदै कृषकलाई आधुनिक प्रविधिबाट खेती गराउने, उन्नत जातको वीउ प्रयोग गर्ने, उत्पादन बढाउने उद्धेश्यले रामपुरलाई मकै बालीमा उपयुक्त क्षेत्र छनौट गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराईले कृषकलाई आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउने, मकैबालीलाई प्रवद्र्धन गर्नका लागि ब्लक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पा अन्तर्गत कृषि ज्ञानकेन्द्र पाल्पाले हेर्ने गरी रामपुरमा मकैबालीमा ब्लक कार्यक्रम सुरु गरिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभएको छ ।

ज्ञानकेन्द्रको रु २४ लाख ९८ हजार, सहकारी संस्थाको रु २२ लाख ७ हजार गरी रु ४७ लाख ५ हजारको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रममा सहकारीका ४१४ कृषक आबद्ध छन् भने दुई हजार ६०० रोपनी क्षेत्रफलमा मकै खेती गरिएको छ ।

SHARE