जेठ १६,२०७९ गुल्मीः गुल्मीमा जिल्ला समन्वय समितिको गठनका लागि एक बहुमत कुनै दलको नआएपछि राजनीतिक दौडधुप चल्न थालेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्रको एक्लै कसैको पनि बहुमत नआएपछि समिति गठनका लागि जोड घटाउ सहित दौडधुप चल्न थालेको छ ।
नेपाली कांग्रेस , नेकपा एमाले र माओबादी केन्द्रले समन्वय समिति आफनो कोल्टामा पार्ने गरी दाउँ खेल्न थालेका छन् । यसका लागि नेकपा माओबादी केन्द्रलाई कांग्रेस र एमाले मध्ये कस्ले हात लिन सक्छ उसैले समन्वय समिति बनाउने पक्का छ ।
गुल्मीमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन अनुसार आंशिक रुपमा मात्रै तालमेल भएको थियो ।
गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । १२ पालिकाको मतभार सङ्ख्या २४ छ । समन्वय समिति गठन गर्नको लागि कम्तिमा १३ मत आवश्यक छ । जसमा एमाले र काँग्रेसको समान १०÷१० एवम् माओवादी केन्द्रको चार मत रहेको छ । यसरी गुल्मीमा समन्वय समति गठन गर्न कम्तिमा दुई दलको गठबन्धन गर्न आवश्यक देखिएको छ ।
नेपाली काँग्रेसले रेसुङगा नगरपालिकामा प्रमुख÷उप–प्रमुख, गुल्मीदरबार र इस्मा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष दुवै पद जितेको छ । त्यस्तै कालीगण्डकी र मदाने गाउँपालिकामा अध्यक्ष एवम् चन्द्रकोट र मालिका गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले मुसिकोट नगरपालिकामा प्रमुख÷उप–प्रमुख, छत्रकोट र सत्यवती गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष दुवै पद जितेको छ ।
त्यस्तै एमालेले मदाने, रुरुक्षेत्र, धुर्कोट गाउँपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाको अध्यक्ष जितेको छ । तर कालीगगण्की गाउँपालिकामा एमाले–माओवादी तालमेलबाट सूर्य चिन्हबाट माओवादी केन्द्रकी उम्मेदवार उपाध्यक्षमा विजयी भइन् ।
नेपाली काँग्रेसले पार्टीको तर्फबाट चन्द्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष दोर्णबहादुर खत्रीलाई समन्वय समिति प्रमुख बनाउने निर्णय गरेको छ । जसका लागि खत्री चन्द्रकोट –३ बाट ५९१ मतसहित वडासदस्यमा विजयी भएका छन् । तर खत्री समन्वय समिति प्रमुख बन्नको लागि काँग्रेससँग स्पष्ट बहुमत छैन । त्यसकारण जिल्ला समन्वय समितिमा माओवादी केन्द्र निर्णायक देखिएको छ ।
कांग्रेसकै नेतृत्वमा समन्वय बन्छ : सचिब भट्टराई
नेपाली कांग्रेसका जिल्ला सचिब जगदिश भट्टराइले नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनको स्पस्ट बहुमत भएकाले समन्वय समिति नेपाली कांग्रेसको नेतृत्वमै बन्ने दाबी गरेका छन् ।
यो राष्ट्रिय सहमति अनुसार नै भएकाले सहमति बाहिर केही पनि नहुने उनको भनाई छ ।
यस्तै नेकपा माआबादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिशीले स्थानीय तहमा कार्यपालिकाको निर्वाचन पश्चात मात्रै समन्वयको बारेमा सोच्न सकिने जानकारी दिए ।
माओबादी केन्द्रलाई समन्वय प्रमुख दिन एमाले तयार
यता नेकपा एमालेका जिल्ला सचिब गणेश श्रीपालीले माओबादी केन्द्रलाई समन्वय प्रमुख दिएर समिति गठन गर्न आफूहरु तयार रहेको बताएका छन् । यसका लागि आफुले माओबादी केन्द्रलाई प्रस्ताव राखेको भन्दै छलफल भइरहेको दाबी गरे ।
२०७४ सालको निर्वाचनबाट जिल्ला समन्वय समितिमा एमाले निर्विरोध निर्वाचित भएको थियो । जसको नेतृत्व लक्ष्मण पराजुलीले गरेका थिए ।