भीमदत्तनगर :गत स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण पराजित भएको नेपाली कांग्रेसले यसपटक मेयर जित्ने बलियो आँकलन गरेको छ । तर उसका लागि गठबन्धनभित्रै स्वच्छ प्रतिस्पर्धामा उत्रिएका माओवादी र समाजवादीका उम्मेदवार तगारो बनेका छन् ।
कञ्चनपुर जिल्लामा तालमेल नभएपछि गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । समाजवादी केन्द्रले मेयरमा यसअघिका वडाअध्यक्ष तथा नगर प्रवक्ता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । माओवादीले भने महाकालीका कुलमान भनेर चर्चित कृष्णदत्त जोशी बोक्सरलाई अघि सारेको छ । दुबै जना नगरमा निकै परिचित र स्वच्छ छविका भएका मानिन्छन् ।
कांग्रेसले यसअघिकै पराजित मेयर पदम बोगटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसभित्र एनपी साउद र रमेश लेखक गुटबीचको अस्वस्थ्य लडाईको असर यसपटक समेत देखिने जानकार बताउँछन् ।
एमालेबाट भने विद्यार्थी नेता महेश पन्त उम्मेदवार बनेका छन् ।
भीमदत्तनगरमा संगठनका हिसाबले कांग्रेस र एमाले मुख्य हुन् । तर एमालेको विभाजनपछि भने संगठन कमजोर बनेको हो । यसअघि एमालेका तर्फबाट विजयी भएका मेयर सुरेन्द्र विष्ट केपी ओली समूहमा लागेपनि उनी घनश्याम भुसाल निकट भएकोले ओली पक्षले उनलाई मन पराउँदैनन् । हाल जिल्ला अध्यक्ष समेत रहेको उनले सिफारिस गरेका जिल्लाका उम्मेद्वारहरुलाई केपी ओलीले बदर गर्दै करिब करिब सबै स्थानमा नयाँ उम्मेदवार घोषणा गरेपछि उनले पुनः मेयरमा उम्मेदवार नदिने घोषणा गरेका थिए ।
यदि उनी उम्मेदवार भएको खण्डमा भने कांग्रेसको टक्कर उनीसँग हुने अवस्था सिर्जना हुन्थ्यो ।
समाजवादीका मेयर राजेन्द्र पाण्डे वडा नं. १८ का पूर्व वडाध्यक्ष हुन् । भीमदत्तको सबैभन्दा ठूलो र निर्णायक महत्व राख्ने यो वडाले जीत र हारमा ठूलो अर्थ राख्छ । पाण्डे यसअघि विष्ट मेयर भएको बेला नगर प्रवक्ता समेत थिए । त्यसैले नगरपालिकाको काम कारवाही, समस्या र चुनौतीबारे उनी मज्जैले जानकार छन् । तर सुरुआती चरणमा मेयर विष्टसँग उनको सम्बन्ध राम्रो भएपनि पछिल्ला दिनमा भने उनले मेयर घेराबन्दीमा परेको र नगरपालिकामा सुशासनको अभाव भन्दै विष्टको विरुद्धमा उभिएका थिए ।
युवाहरुमाझ उनी निकै लोकप्रिय रहेका छन् । र, उनलाई साथ दिएका छन् माओवादीका तर्फबाट उपमेयर कृष्णदत्त जोशी बोक्सरले । बोक्सर नामले परिचित जोशी यसअघि महाकाली अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष समेत थिए । अस्पतालको इतिहासमा बोक्सरको कार्यकाल सबैभन्दा सफल मानिन्छ ।
उनले आइसियू कक्षदेखि डाक्टरको व्यवस्था र अस्पताललाई पूर्ण सेवा सुविधासम्पन्न बनाउन निकै मेहनत गरेका थिए । त्यसैले उनलाई कुलमान भनेर समेत कतिपयले चर्चा गर्ने गर्दछन् । शिक्षण पेशाको लामो अनुभव बोकेका जोशी कुनै कुरामा लागेपछि त्यसलाई पूर्ण बनाएरै छाड्ने स्वभावका छन् । त्यसैले उनलाई कुनै पार्टीको ट्याग लाग्ने सम्भावना कम छ । उनले लोकप्रिय मतका आधारमा उपमेयरमा जित्ने सम्भावना बलियो बनेको हो ।
यसरी यी कतिपय कारणले गर्दा कांग्रेसका लागि गठबन्धनकै दलका उम्मेदवार चुनौती बनेका हुन् । तर यसभन्दा अर्को फ्याक्टरले पनि भीमदत्तमा अर्थ राख्छ ।
भीमदत्त नगरपालिकामा डडेल्धुरा र बैतडी जिल्लाका अधिक मतदाता रहेका छन् । हरेक निर्वाचनमा डोट्याल (डडेल्धुरावासी) र बैतडा (बैतडीवासी)को नारा निर्वाचन जितहारको मुख्य कारक समेत बन्ने गरेको छ । अहिले कांग्रेसबाट उम्मेदवार बनेका डडेल्धुराका हुन् भने समाजवादीका पाण्डे बैतडीका हुन् ।
नेकपा एमालेका उम्मेदवार पन्त समेत बैतडीका हुन् । यसअघि यही डोट्याल बैतडाको नाराले रमेश लेखक (जो बैतडीका हुन्)ले बोगटीलाई असहयोग गरेको कारण कांग्रेस पराजित हुनुपरेको चर्चा अहिले पनि चल्ने गरेको छ । त्यसैले कांग्रेसका बोगटीले कांग्रेसको संगठित मत बाहेक बैतडीको मत कम पाउने सम्भावना देखिन्छ । यो अवस्थामा बझाङ घर भएका माओवादीका उपमेयर बोक्सरका कारण बैतडी, दार्चुला र बझाङ, अछामलगायतको मत एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई जाने देखिन्छ ।
एमालेका महेश पन्त भनेसंघर्षशील नेता भएपनि अनुभव नभएको कारण उनले संगठनात्मक र नातागोताको मत पाउने अवस्था मात्रै रहेको आँकलन गरिएको छ।
यसरी हेर्दा कञ्चनपुरमा यसपटक अप्रत्यासित नतिजा आउने अनुमान गर्न सकिन्छ। बोगटी कांग्रेसका पुराना नेता भएपनि आम जनतामाझ भने उनी लोकप्रिय छैनन्। स्वभावले ‘रिजर्भ’ देखिने बोगटीले पार्टीको र रमेश लेखक पक्षले विगतझै पूर्ण सहयोग गर्न नसक्ने सम्भावनाका कारण क्षेत्रीय मत मात्रै पाउने सम्भावना बढी हो। यो अवस्थामा पाण्डे र बोक्सरको लोकप्रियताका कारण दुबैले पपुलर मत पाउने अवस्था बढेको हो।
एकीकृत समाजवादी र माओवादी केन्द्रले नगरका १९ वटै वडामा तालमेल गरेका छन्। दुबैले संयुक्त चुनावी प्रचार गरिरहेका छन्। एमाले विभाजनपछि कार्यकर्ता र नेताहरुको ठूलो पंक्ति एकीकृत समाजवादीतर्फ गएकोले उनीहरुको संगठनात्मक अवस्था समेत मजबुत देखिन्छ।