बैशाख ४,२०७९ गुल्मीः बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको गुल्मी जिल्लामा निकै चहलपहल बढेको छ । स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्ममा को बन्ने भनेर धेरै उम्मेदवारको चर्चा भइरहेको बेला जिल्लाको इस्मा गाउँपालिकामा नेपाली काँग्रेस पार्टिको तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि भगत सिंह खड्कालाई सर्वसम्मत उम्मेदवार बनाउने भएको छ ।
२०६१ सालमा नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको इकाई सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका हाल नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका सचिव समेत रहेका खड्कालाई इस्मा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
खडका २०६३ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सचिव, २०६७ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सदस्य, २०६८ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य, २०६९ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सह–सचिव, २०७२ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सभापति हुँदै हाल नेपाली काँग्रेसको जिल्ला सचिव रहेका छन् ।
दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटा स्थानीय तह भएको यस जिल्लामा उहाँसँगै नेपाली काँग्रेसको तर्फबाट हालसम्म तीन स्थानीय तहको प्रमुखको उम्मेदवारी सर्वसम्मत रुपमा टुङ्गो लागेको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पूर्व–सचिव समेत रहनुभएका हरिनारायण सापकोटालाई नगर प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
छत्रकोट गाउँपालिकामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति रहनुभएका अनन्तराम पौडेललाई गाउँपालिका अध्यक्ष बनाउनको लागि सर्वसम्मत निर्णय गरेको छ । जिल्लामा सबै उम्मेदवारहरु गठबन्धनको निर्णय अनुसार तय गरिएको बताइएको छ । अन्य स्थानीय तहमा पनि छिट्टै नै सकेसम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्ने गुल्मी काँग्रेसले जनाएको छ ।