सन्तोष महतारा
चैत २३,२०७८ गुल्मीः गुल्मीको मालिका गाउँपालिकामा सत्तारूढ गठबन्धन दलको भागबण्डा मिलेको छ । जिल्लामा पहिलोपटक मालिका गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भागबण्डा मिलेको हो ।
मालिका गाउँपालिकामा अध्यक्षसहित २ वडाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । साथै नेपाली काँग्रेसको भागमा उपाध्यक्षसहित ६ वडाध्यक्ष परेको नेपाली काँग्रेस मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए ।
गठबन्धनको चुनावी घोषणा कार्यक्रमको पूर्व सन्ध्यामा मालिका गाउँपालिकाको अर्खबाङ्गमा गरिएको पत्रकार सम्मेलनमा भागबन्डा मिलेको गठबन्धन दलले जनाएका छन् ।
पत्रकार सम्मेलनका क्रममा गठबन्धन दलबाट अध्यक्ष पदका उमेदवार बनेका नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले आफूहरूले अत्याधिक मतले जित्ने बताएका छन् । नेकपा एमालेसँग २ हजार भन्दा बढीको मतअन्तरले आफूहरूले सबै वडा र पालिका जित्ने अर्यालले बताए ।
नेकपा माओवादी केन्द्रको भागमा गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ८ परेको हो । बाँकी वडाहरु नेपाली काँग्रेसको भागमा परेको हो ।
नेकपा एकीकृत समाजवादीको भागमा भने वडासदस्यहरु परेका छन् । नेपाली काँग्रेसले पालिकाको उपाध्यक्ष पदको उमेदवार भने अझै टुङ्गाएको छैन । गठबन्धन दलले लिखित रुपमा भागबन्डाको सम्झौता गरेपछि गठबन्धनको चुनाबी घोषणा कार्यक्रम अर्खबाङ्गमा आयोजना गरेका छन् ।