शहीद बहुमुखी क्याम्पसको अध्यक्षमा नेत्रप्रसाद भट्टराई

0
337

–सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ फागुन : पूर्वी पाल्पाकै ठूलो क्याम्पसको रुपमा रहेको शहीद बहुमुखी क्याम्पस रामपुरको सञ्चालक समिति अध्यक्षमा नेत्रप्रसाद भट्टराई चयन हुनुभएको छ ।

आगामी तीनवर्षे कार्यकालको लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ । नवगठित समितिको सदस्यमा रामप्रसाद ढकाल, कृष्णप्रसाद श्रेष्ठ, फणेश्वर गौतम, दुर्गा पोखरेल, सुरेश अधिकारी, यमबहादुर सुनार, पार्वती न्यौपाने, रिता गौतम रहनुभएको छ ।

शुक्रवार नै बसेको नयाँ समितिको बैठकले सदस्यमा दिवाकर देवकोटा र सुकदेव पोखरेललाई चयन गरेको छ । पदाधिकारी भने सञ्चालक समिति भित्रबाटै चयन गरिनेछ ।
यसअघि नै समिति सर्वसम्मत रुपमा चयन प्रक्रिया भएपनि सञ्चालक समितिले शुक्रवारदेखि मात्रै पूर्णता पाएसंगै नवनिर्वाचित समितिलाई अध्यक्ष देवराज ढकालले पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले गर्नुभएको हो भने निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

सामाजिक सद्भाव कायम राखी क्याम्पसको शैक्षिक, भौतिक क्षेत्रको उन्नयनमा काम गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाउनुभएको छ ।
विसं २०४६ को जनआन्दोलन पश्चात् गण्डकबेँशीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालन गरिएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो ।

मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठनबाट शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म पठनपाठन भइरहेको छ । एमएड तहमा नेपाली, शिक्षा योजना तथा व्यवस्थापन (एपिएम) र एमबिएस तहसम्मको पठनपाठन भइरहेको छ ।

विसं २०४८ मा स्थापना भई त्रिविबाट सम्बन्धन प्राप्त गरी मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठन भएको यस क्याम्पसमा कक्षा ११÷१२ देखि स्नातकसम्म शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुँदै आएको छ भने शिक्षा सङ्कायमा २०६७ देखि स्नातकोत्तर र यसैवर्ष देखि व्यवस्थापन तहमा पढाइ हुँदै आएको छ ।

विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने २०५५ सालमा तत्कालीन उच्च माध्यमिक तहको पठनपाठन शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, २०६६ मा व्यवस्थापन र २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको हो ।

हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायको पठनपाठन भइरहेको छ । विसं २०४६ को जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको नामबाट क्याम्पस सञ्चालन गरिएको हो ।

SHARE