पुस३०,०७८दाङ : दाङमा कोरोना संक्रमण बढ्दै गएपछि दाङमा कडाइ गरिएको छ। माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा र पार्कमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य देखाउनुपर्ने र कार्डको फोटो मोबाइलमा भएपनि हुने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।
त्यस्तै‚ कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसाय साँझ ७ बजेपछि सञ्चालनमा गर्न नदिने निर्णय भएको छ। त्यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम गर्न रोक लगाउने र २५ जनाभन्दा बढीको भेलालाई पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ।
यसैगरी संघीय सरकारको निर्णयअनुसार नै माघ १५ गतेसम्म विद्यालय खोल्न नपाइने र सञ्चालित परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।