सामुदायिक वनको सुनिश्चितताको लागि अन्तर संवाद

0
38

सुशीला रेग्मी
पुस १६,२०७८ रामपुर (पाल्पा) :सामुदायिक वनको सुनिश्चितताको लागि अन्तर संवाद कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पाल्पाको आयोजना तथा स्थानीय महासंघको व्यवस्थापनमा कार्यक्रम भएको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पाल्पाका अध्यक्ष निरन्जन भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठक रहनुभएको हो ।

अध्यक्ष पाठकले सरकारले संविधानलाई मिचेर ऐन, नियमावली मार्फत सामुदायिक वनका उपभोक्ताहरु माथि अंकुश लगाउने प्रयास गर्दै आएको बताउनुहुदै सरकारले पटक पटक उपभोक्ता माथि भार थोपर्ने गरी काम गरेको बताउनुभयो ।

संविधानलाई मिचेर ऐन, ऐनलाई मिचेर नियमावली ल्याईरहेको र सरकारले पछिल्लो समय प्रस्ताव गरेको सामुदायिक वन नियमावली उपभोक्ताको पक्षमा नरहेको नरहेको अध्इक्ष पाठकले बताउनुभयो । संघिय सरकारले वैज्ञानिक वन खारेज गरेपनि लुम्बिनी प्रदेशमा सोही कार्यक्रम ल्याउन लागेको, साथै प्रदेशले करको भार थोपर्न लागेको भन्दै यस्ता प्रस्ताव उपभोक्ताको पक्षमा नरहेकाले सचेत रहन आग्रह गर्नुभयो । वनको निती निर्माणमा प्राविधिक तथा कर्मचारीहरुले उपभोक्तालाई वेवास्ता गरी प्रभावित पार्ने काम गरेको अध्यक्ष पाठकले आरोप लगाउनुभयो ।

सामुदायिक वनको अवधारणा आएपछि नाङ्गो डाँडा हरियालीमय बनेको छ, स्थानीय उपभोक्ताले दुख गरेर हुर्काएको वनबाट वनजन्य पैदावार उपभोग गर्न नपाउनु दुखद कुरा रहेको उहाँ बताउनुहुन्छ । सामुदायिक वन ऐन २०४९ ले स्वायक्त अधिकार दिएपनि अहिले राज्यले त्यो अधिकार कुण्ठित पार्न खोजेको उहाँको भनाई छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले सामुदायिक वन महासंघले वन संरक्षणमा जुटेको बताउनुहुदै तीन तहका सरकार छन्, संघ, प्रदेश र स्थानीय तहले आफ्नै ढंगले कानुन बनाउदा बाझिएको अवस्था रहेको बताउनुभएको छ । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले कानुन उपभोक्ताको हितमा नहुदा वन पैदावारको प्रयोग गर्न नपाउनु उपभोक्ताको लागि दुखद भएको बताउनुहुदै यसमा केन्द्रिय अध्यक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा हेमवन्ती नेपालका केन्द्रीय सदस्य दुर्गादेवी राना, नेकपा एमालेको तर्फबाट नगर कमिटी ईन्चार्ज राजुप्रसाद श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल,सव डिभिजन वन कार्यालय रामपुरका वन सहायक अधिकृत सुजनराज भण्डारी, सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छबिलाल खनाल, राम्चे सामुदायिक वनका अध्यक्ष दयाराम गैरे, घिरिङ गाउपालिकाका वन महासंघ अध्यक्ष रामप्रसाद श्रेष्ठ लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

कार्यक्रम संचालन सामुदायिक वन महासंघ नेपाल रामपुरका सचिव लक्ष्मी थापा र सामुदायिक वन महासंघ जिल्ला कोषाध्यक्ष लक्ष्मी ज्ञवालीले गर्नुभएको हो । राम्चे सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा सहभागीलाई स्वागत सामुदायिक वन महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालले गर्नुभएको हो ।

SHARE