अनाथ बालबालिकालाई शैक्षिक सामग्री

0
261

सुशीला रेग्मी
रामपुर (पाल्पा), १३ पुस
रामपुर नगरपालिका वडा नं ७ पाल्पाले स्टेशनरी सामग्री वितरण कार्यक्रम गरेको छ । मंगलवार आधारभुत माध्यमिक विद्यालयमा नै पुगेर वडाले विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको हो । कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा एक कार्यक्रम गरी विद्यालयका २९ जना अनाथ विद्यार्थीलाई सामग्री प्रदान गरिएको छ ।
नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सामग्री वितरण गर्नुहुदै नगरले मेयरसंग बालबालिका शीर्षकमा कार्यक्रम गरी विभिन्न सामग्री प्रदान गरिएको बताउनुभयो । घरमा अभिभावक गुमाएका बालबालिकालाई सहानुभुती होस् भनी शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख थापाले बताउनुभएको छ ।
नगरपालिकाले आगामी शैक्षिक सत्र देखी स्थानीय पाठ्यक्रम तयार गर्ने योजना अनुसार कक्षागत रुपमा पाठ्यक्रम तयार पार्ने नगर प्रमुख थापा बताउनुहुन्छ । स्थानीय पाठ्यक्रममा कस्ता खालका विषयवस्तु समावेश गर्दा शिक्षण कार्य प्रभावकारी हुन्छ सुझाव दिन बालबालिकालाई अनुरोध गर्दै सोही अनुसार पाठ्यक्रम तयार पार्ने नगर प्रमुख थापाले बताउनुभएको छ ।
कार्यक्रमको संचालन कार्यालय सहायक गीता पौडेलले गर्नुभएको हो । आधारभुत मावि संगै वडाले विजय प्राथमिक विद्यालय, संयुक्त प्राथमिक विद्यालय, अकला प्राथमिक, आनन्द निकेतन विद्याश्रम विद्यालयमा पनि स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

SHARE