सुशीला रेग्मी
पुस ६,२०७८ रामपुर (पाल्पा) :रामपुरमा फरक क्षमता भएका नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।
अपाङ्गता हेरचाह सहयोग समिति रामपुर नगरपालिका ५ को आयोजना तथा वडाको आर्थिक सहयोगमा न्यानो कपडा सिरक वितरण गरिएको हो । प्रमुख अतिथि रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्लले वडाले बिगतका वर्ष देखि नै लक्षित वर्गलाई वजेट विनियोजन गरी विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद बस्यालले जाडो मौसममा न्यानो कपडा अति उपयोगी हुने र फरक क्षमता भएका नागरिकलाई वडा तथा नगरले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको छ ।
वडाभित्र बसोबास गर्ने रातो र निलो कार्ड प्राप्त गरेका २९ जनालाई न्यानो कपडा उपलब्ध गराइएको वडा सदस्य माया नेपालीले जानकारी दिनुभयो । वडामा रातो कार्ड प्राप्त १४, निलो कार्ड प्राप्त १५, पहेँलो कार्ड प्राप्त ४ र सेतो कार्ड प्राप्त २४ जना नागरिक रहेको वडा सदस्य काशिनाथ रेग्मीले बताउनुभयो ।
अपाङ्गता हेरचाह सहयोग समितिका अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भानुभक्त न्यौपानेले गर्नुभएको हो । जाडो मौसममा न्यानो कपडा पाएपछि फरक क्षमता भएका नागरिक उत्साहित बनेका छन् ।