गुल्मीदरबारमा महिलालाई उद्यमी बनाई आत्मनिर्भर गराउन अचार बनाउने तालिम

0
421

सन्तोष महतारा
कात्तिक १६,२०७८ गुल्मीः गुल्मीको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको छ ।
गाउँपालिका भित्रका २५ जना महिलालाई गाउँपलिकाको १ लाख आर्थिक सहयोग र ए फोर ट्रेनिङ सेन्टर रुपन्देहीको व्यवस्थापन सहयोगमा अचार बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा सहभागी महिलाहरुले गाउँपालिकाको यस्तो कार्यक्रमले आफूहरू उद्यमी बनेर आत्मनिर्भर बन्ने बताएका छन् । तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर १ की मिना पुनले केही वर्ष अगाडि बिदेश गएर आफूले भोगेको नमिठो अनुभव सुनाइन् । यस्तो तालिम आफुले पहिले पाएको भएमा बिदेश जान नपर्ने उनले बताइन् ।
अब गाउँपालिकाले अचार बनाउने तालिम दिएकोले आफू व्यवसायीक रुपमा लागेर उद्यमी बन्ने प्रतिज्ञा गरिन् । त्यस्तै तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर २ कि सरस्वती गौतमले तालिम पहिले गरिएको भएपनि यश तालिममा सक्रिय भएर सिकेको बताइन् । ७ दिने तालिमले अब आफू आत्मनिर्भर हुने आशा जागेको उनले बताइन् ।

अन्य प्रकारका तालिम पनि गाउँपालिकाले आयोजना गर्नुपर्ने उनले बताएकी थिइन् । त्यस्तै तालिममा सहभागी अर्की महिला निशा पौडेलले आफू अब अचार बनाएर जीविकोपार्जन गर्न लाग्ने भन्दै आफू आफैमा आत्मनिर्भर बन्न सक्ने बनाइन् । यस्तो तालिम लिन आफूले अवसर पाएकोमा उनले गाउँपालिकाको प्रशंसा गरिन् । तालिममा सहभागी २५ जना महिलाले तालिमले एउटा आँट दिइरहेको बताएका थिए ।

तालिममा प्रशिक्षक समेत रहेकी भगवती बस्यालले व्यवसायीक रुपमा निरन्तरता दिन तालिम लिने सबैलाई आग्रह गरिन् । घर वरपर हुने विभिन्न फलफूल, तरकारीहरुलाई अचारको रुपमा राखेर बर्षदिन सम्म प्रयोग गर्न सकिने उनले बताइन् । ट्रेनिङ सेन्टरकी प्रवन्ध निर्देशक हेमा बेल्बासेले सीप सिकेर सबै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । यस तालिमले महिला उद्यमी बन्न सफल हुने उनले बताइन् । सीप सिकेर श्रीमान् र श्रीमती दुवैले केही गरेमा घरमा घरायसी झगडा पनि नहुने उनले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु दिएको बताए ।
यसअघि डोजर अपरेटर तालिम समेत गाउँपालिकाले दिएको उनले बताए । सानो लगानीले महिला उद्यमी बन्ने भएकोले यस्तो तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ रहेको थियो । महिलाहरु अचार बनाएर उद्यमी बन्न चाहिने आवश्यक पुर्वाधारमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

गाउँपालिकाको चिनारीका साथ अचारलाई व्यवसायीकरण गर्न समेत उनले तालिम लिएकाहरुलाई आग्रह गरे । सहभागी सबैलाई गाउँपालिकाले प्रमाणपत्र हस्तान्तरण गरेको छ । प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष मिना भण्डारीले सीप सिकेर सबै महिला आत्मनिर्भर बन्न आग्रह गरिन् । गुल्मीदरबार गाउँपालिकाको चिनारीका साथ तम्घास, बुटवल, भैरहवा र काठमाडौ सम्म अचार पुराएर गाउँपालिकाको उत्पादनलाई जताततै चिनाउन उनले आग्रह गरिन् ।

तालिम लिइसकेपछि अब व्यवसायका रुपमा अगाडि बढाउन उनले आग्रह गरिन् । सीप र शिक्षालाई महत्त्वका साथ दिएर व्यवसाय गर्न जोड दिएकी थिइन् । गाउँपालिकामा उत्पादन हुने अकबरे खुर्सानी, लाम्चो खुर्सानी, आँप, तामा, अमला, अदुवा, लसुन, ठूलो करेला, तिते करेला, कागती, मेथि लगायतका ११ प्रकारका अचारहरु महिलाहरुले उत्पादन गर्न सिकेका छन् ।

SHARE