
रामकृष्ण कंडेल,
कार्तिक १०,२०७८ गुल्मी :स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदार पराजुलीले पोषण तालिमको अनुगमन गरेका छन्।
गुल्मीदरबार गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा कार्तिक ३ गतेदेखी स्वास्थ्यकर्मीहरुको लागि वृहत पोषण प्याकेज सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको सोमबार पराजुलीले अनुगमन गरेका हुन्। अनुगमनको क्रममा गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाले लागु गरेका कस्तो छ आमा, तौल अनुगन दिवस, स्वास्थ्य आमा समूहको बैठकमा स्वास्थ्यकर्मीको अनिवार्य उपस्थिति र तालिम संचालनको मोडलले आफू अत्यन्तै प्रभावित भएको र अन्य ठाउँले पनि सिको गर्ने खालको भएको बताए।
कार्यक्रमका प्रशिक्षक एवम् गुल्मीदरबार गाउँपालिका, स्वास्थ्य अधीकृत नारायण प्रसाद अर्यालले गुल्मीदरबार गाउँपालिकाले स्वास्थ्य सम्बन्धि गरेका नविनतम कार्यक्रमहरुको बारेमा प्रकाश पार्दै जिरो होम डेलिभरी बनाउनको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम लागु गर्न र स्वास्थ्य आमा समूहको नियमित बैठक संचालन खर्च व्यवस्थापन गर्नको लागि स्वास्थ्य सेवा विभाग संग अनुरोध गरेका थिए।

कार्यक्रममा पराजुलीले अल्ट्रासाउन्ड र यसको लागि आवश्यक उपकरणको व्यवस्थापन स्थानीय तहले गरेमा आफूहरुले अल्ट्रासाउन्डको लागि तालिमको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए। गाउँपालिकाको कार्यवाहक अध्यक्ष मिना भण्डारीको सभापतित्वमा सम्पन्न अतिथी सम्मान तथा मायाको चिनो प्रदान गरिएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधीकृत कल्पना पाण्डे, सुआहारा केन्द्रीय कार्यालयका भिमकुमारी पुन, स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य, सुआहारा गुल्मीका प्रमुख लिलबहादुर नेपाली, एकिकृत ग्रामीण विकास समाजका सुआहारा फोकल पर्सन राजेन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
विभागको टोलीले कार्तिक ७ र ८ गते संचालन भएको राष्ट्रिय भिटामिन(ए र जुकाको औषधी खुवाउने कार्यक्रमको अनुगमन छत्रकोट गाउँपालिकाको पल्लिकोट स्वास्थ्य चौकीमा र रुरुक्षेत्र गाउँपालिकामा संचालित पोषण सम्बन्धि वृहत पोषण सम्बन्धी प्रशिक्षक प्रशीक्षण तालिमको अनुमन गरेका थिए।
स्वास्थ्यकर्मीहरुका लागि पोषण प्याकेज सम्बन्धि तालिम सम्पन्न भए संगै सबै स्वास्थ्य संस्थाहरुमा पोषण सम्बन्धी महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुको लागि तालिम संचालन गर्ने छन्। सबै महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीकाहरुले यो तालिम पाईसकेपछी स्वास्थ्य आमा समूहमा पोषण शिक्षा प्रवाह गर्दै कुपोषित बालबालिकाहरुको खोजी गर्नुका साथै घरघरमा व्यवहार परिवर्तन गराउन सचेतना फैलाउने छन्। 
यो तालिम गाउँपालिकाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने कार्यक्रम रहेको स्वास्थ्य अधीकृत अर्यालले बताए। सेवा प्रवाहलाई मध्यनजर गर्दै २ चरणमा संचालन गरिने तालिमको पहिलो चरण कार्तिक ३ गते देखि ९ गते सम्म र दोस्रो चरण कार्तिक २३ गते देखि २९ गते सम्म चल्ने स्वास्थ्य शाखाले बताएको छ।साथै पहिलो चरणको तालिमको मंगलबार प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले एक कार्यकर्मका बिच समापन गरेका छन ।
समापन कार्यक्रममा बोल्दै पाण्डेले तालिममा सहभागिहरुको उत्साहजनक सहभागिता रहेको र तालिममा सिकेका कुराहरुको अधिकतम प्रयोग गरि गाउँपालिकालाका लाइ पोषण मैत्री गाउँपालिका बनाउनको लागि आवश्यक सुचकहरु पुरा गर्नको लागि सम्पुर्ण स्वास्थ्यकर्मिहरु लाग्नुपर्ने बताएका थिए ।











