रामपुरमा भाडादर समायोजन सम्बन्धी छलफल

गाडी चल्ने स्थानको सिमा निर्धारण गर्नुपर्नेमा जोड

0
274

सुशीला रेग्मी
कात्तिक ९,२०७८ पाल्पा : रामपुर नगरपालिकामा मंगलवार नगरभित्र सञ्चालन हुने सवारी साधनको भाडादर सामायोजन सम्बन्धी छलफल कार्यक्रम भएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बैठक बसी युवा संघ नेपाल रामपुर नगरपालिका वडा नं १० पाल्पाले गाडी भाडादर समायोजन सम्बन्धमा दिएको निवेदनमा छलफल गरिएको हो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशासन कार्यालयका प्रमुख, यातायात समिति, पत्रकार, प्रहरी लगायतको रोहबरमा छलफल भएको छ ।
युवा संघका सदस्य विपुल पोखरेलले रामपुर नगरपालिका वडा नं १० को गेझा बर्दलेबाट बेझाड बजार सम्मको भाडा तीन सय रुपैयाँ तिर्नु परेको गुनासो गर्नुभयो । मनिराम पौडेलले बस, कार, भ्यानले मनपरी भाडा अशुल्ने गर्दा सर्वसाधारण यात्रु मर्कामा परेकाले भाडा समायोजन गरिदिन अनुरोध गर्दै नगरपालिकामा निवेदन बुझाएको बताउनुभएको छ । रामपुरको बेझाड बजार देखि रामटार सम्मको करिव पन्ध्र किलोमिटरको दुरीमा नमस्ते रामपुर यातायात प्रालीले दुई सय रुपैयाँ भाडादर तोकेको छ । तर सम्बन्धित यातायात धनीले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ ।
यातायात व्यवसायी संग बसेर निश्चित भाडाको दररेट, गाडी गुड्ने क्षेत्र निर्धारण, ट्राफिक व्यवस्थापन लगायतका विषयमा छिट्टै निर्णय गरेर यात्रु महानुभावलाई सुलभ रुपमा सेवा दिने नगर प्रमुख थापा बताउनुहुन्छ ।
“समितिले तोकेको भन्दा बढी भाडा अशुल्न नपाइने र अब सम्बन्धित निकायले निश्चित भाडादर तोक्नेछ, कसैले अटेर गरेर मनपरी भाडा असुलेको प्रमाण सहित जानकारी आएमा सम्बन्धित निकायले कारबाही गर्नेछ” नगर प्रमुख थापाले भन्नुभयो ।
इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान् भक्त अर्यालले नगरभित्र चल्ने गाडीले तोकेको भन्दा पनि बढी भाडादर लिएको बताउनुहुदै निश्चित स्थान छुट्टाएर भाडादर कायम गर्नुपर्ने, गाडी चल्ने स्थानको सिमा निर्धारण हुनुपर्ने बताउनुहुन्छ । सर्वसाधारण नागरिकबाट आएका गुनासा र समस्यालाई समाधानको पाटो खोजिनुपर्ने, टिकट सिस्टम लागु गरियो भने यात्रु गाडी भाडाबाट ठगिने क्रम रोकिने अर्यालको भनाई छ ।
नमस्ते रामपुर यातायात प्रालीका सञ्चालक तथा गाडी नम्बर संयोजक भोजराज भट्टराईले रामपुर बेझाड बजार देखि रामटार सम्म समितिले दुई सय रुपैयाँ एकतर्फी भाडादर कायम गरेको र केही व्यवसायीले बढी भाडा लिएको भन्ने कुरा उठेपनि समितिमा भने आधिकारिक जानकारी नआएको बताउनुभएको छ । केही समय समितिले नगर बस सेवा पनि सुचारु गरेको जानकारी दिनुहुदै यात्रु बसमा भन्दा साना गाडी भ्यान, तीन पाङ्गे गाडीमा चढ्ने गरेकाले नगर बस सेवा अहिले सञ्चालनमा नरहेको भट्टराई बताउनुहुन्छ ।
नमस्ते रामपुर यातायात प्रालीका व्यवस्थापक भेषराज पोखरेलले अब छिट्टै नै सम्बन्धित निकाय संग बसेर छलफल गरी निश्चित भाडादर कायम गरिने बताउनुभएको छ ।
यात्रुले पनि कहाँ देखि कहाँ सम्म चढेको र ओर्लेको भाडाको दररेट कायम भएमा यात्रुलाई सहज हुने पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवस्थापक शिव ढकालले बताउनुभएको छ । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले गर्नुभएको हो ।

SHARE