जिल्ला प्रशासनमा कार्यालय नखुल्दै सेवाग्राहीको लाइन

0
577

कात्तिक ८,२०७८गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यालय नखुल्दै सेवाग्राहीहरुको भीड लाग्ने गरेको छ ।
आइतबार बिहान साढे नौ बजे देखीनै जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको भीड लागेको थियो ।
चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र सोही समयलाई सदुपयोग गरेर नागरिता बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनबाट आइतबार मात्रै ११३ नयाँ नागरिकता जारी भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
यस्तै नागरिकताको प्रतिलिपि ६६, नावालक परिचयपत्र ८ राहदानी सामान्य तथा द्रुत गरी १४२, ७६ राहदानी वितरण र ११५ जनाको राष्ट्रिय परिचय पत्रको काम भएको पौडेलले जानकारी दिए ।
गुल्मी जिल्लामा जती नयाँ नागरिकता बन्छन्, त्यसको झण्डै ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकहरुले नागरिकताको सुरक्षा नगर्दा र नागरिकताको महत्व नबुझेका कारणले पनि प्रतिलिपी बनाउनेको संख्यामा बृद्धि भएको पौडेलको दाबी छ ।
बिवाहा दर्ताले काम गर्ने ठाउँमा पनि पतिको नाम कायम गर्न आउँदा प्रतिलिपी दिनुपर्ने र धेरैले नागरिकता हरायो भन्दै प्रतिलिपी लिन आउने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सेवाग्राही बढदै जाँदा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कर्मचारीको समेत अभाव भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा २ जना प्रशासकीय अधिकृत रहेकोमा एक जना बिरामी बिदामा बसेकाले पनि जनशक्ति अभाव देखिएको छ ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएका कारण सेवाप्रवाहामा झनै समस्या थप भएको छ ।

SHARE