कात्तिक ७,२०७८दाङ :नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समय मै महशुल नबुझाउने सेवाग्राहीको लाइन काट्न शुरु गरेको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ७० घरको लाइन काटिएको केन्द्रले जनाएको छ।
कात्तिक १ गतेदेखि लाइन काट्न शुरु गरिएको केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालले बताए। मिटर रिडिङ भएको ६० दिनभन्दा बढी समयसम्म पनि सेवाग्राहीले महशुल तिर्न नआएमा उनीहरूलाई कालो सूचीमा राखेर लाइन काट्न थालिएको उनको भनाइ छ।
विभिन्न व्यक्ति संघ, सरकारी कार्यालय, कम्पनीलगायतबाट पाँच करोड ६७ लाख रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिए। चालु आर्थिक वर्षको अन्त्यसम्म तीन करोड रुपैयाँ असुल गर्ने लक्ष्य रहेको उनले बताए।
चालु आर्थिक वर्षको हालसम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाइन काटेको छ। धमाधम लाइन काट्न सुरु गरेपछि बक्यौता महशुल संकलन हुन थालेको उनले बताए।