एक शताब्दि पुरुष सुब्बा लोकनाथको प्रतिमा स्तम्भ अनावरण

0
37

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ असोज : एक शताब्दि पुग्नुभएका पुरुष सुब्बा लोकनाथ उपाध्याय रेग्मीको अर्धकदको प्रतिमा स्तम्भ निर्माण गरिएको छ । रामपुर नगरपालिका ६ स्थित पर्यटकीय तालपोखरा पार्कमा नवनिर्मित प्रतिमा स्तम्भको बिहीवार नगर प्रमुख रमणबहादुर थापाले अनावरण गर्नुभयो ।
प्रतिमा स्तम्भको अनावरण गर्दै नगर प्रमुख थापाले समाजका ज्येष्ठ नागरिक रेग्मीको सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको बताउनुहुदै योगदानको सही ठाउँमा कदर भएको बताउनुभयो ।
तालपोखरा संरक्षण समितिले विसं २०६६ को पुस ११ देखि १८ गते सम्म आयोजना गरेको तालपोखरा सहयोगार्थ श्रीमद्भागवत धनधाञ्याञ्चल ज्ञान महायज्ञमा सबैभन्दा धेरै दान सहयोग गर्नुभएका रेग्मीको प्रतिमा स्तम्भ निर्माण गरिएको पूर्व अध्यक्ष देवराज देवकोटोले जानकारी दिनुभएको छ ।
ज्येष्ठ नागरिक रेग्मीले सो महायज्ञमा रु १३ लाख ३३ हजार ३३३ दान रकम सहयोग गर्नुभएको छ । समितिले महायज्ञमा रु दश लाख भन्दा माथि दान सहयोग गर्ने दानदाताको तालपोखरा परिसरमा सालिक तथा प्रतिमा स्तम्भ बनाउने योजना अनुसार पहिलो प्रतिमा स्तम्भ निर्माण गरी अनावरण गरेको अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
भारतको पहाडगञ्जमा रु ५५ हजार बराबरको लागतमा तयार पारिएको प्रतिमा स्तम्भ ल्याएर बडादशैको महानवमीको शुभ साइतमा अनावरण गरिएको छ ।
आफ्नै प्रतिमा स्तम्भ अनावरण कार्यक्रममा आफू स्वयम् उपस्थित हुन पाउँदा धेरै खुशी लागेको ज्येष्ठ नागरिक रेग्मी बताउनुहुन्छ । यस तालपोखरा समितिले यहाँ बाँकी छ जनाको सालिक स्तम्भ निर्माण गर्ने योजना बनाएको छ ।
उहाँले हालसम्म शैक्षिक संस्था, संचार क्षेत्र, सामाजिक संघ संस्थामा गरी करिव पाँच करोड बराबरको रकम सहयोग गर्नुभएको छ । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुनिल देवकोटाले गर्नुभएको हो । रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले आफ्ना भनाई राख्नुभएको कार्यक्रममा रेग्मीका सुपुत्र सुदनप्रकाश रेग्मीले सामाजिक हितका लागि विभिन्न संघ संस्था, क्षेत्रमा, शैक्षिक संस्थामा सहयोग गर्दै आएको बताउनुभएको छ । ज्येष्ठ नागरिक रेग्मी श्रीमती, तीन छोरा, सात बहिनी छोरी सहित नाती नातीना, पनाती पनातीना गरी दुई सय ५० सन्ततीका अभिभावक हुनुहुन्छ ।

SHARE