उत्साहका साथ विद्यालय जादै विद्यार्थी

0
471

सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ असोज ः कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थीहरु नियमित विद्यालय जान थालेका छन् । लामो समय सम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोका बोकेर स्कुल पोशाकमा विद्यालय जान पाउँदा धेरै खुशी देखिएका छन् ।
विद्यालयमा स्वयम् उपस्थित भएर पढ्न पाउँदा धेरै छिटो सिकाई ग्रहण गर्न पाइने रामपुर आवासीय अंग्रेजी बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत छात्रा सुस्मा सिग्देल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “विद्यालय बन्द हुदाको समयमा घरमा बसेर अनलाइन कक्षा पनि पढियो, अनलाइन कक्षाको तुलनामा भौतिक रुपमा विद्यालयमा नै उपस्थित भएर पढ्दा नै छिटो बुझ्न सकिने, धेरै कुरा सिकिने, यसरी नियमित विद्यालय जान पाउँदा नि रमाइलो लागेको छ” ।
पाठ्यभारमा आधारित रहेर बिहान १० वजे देखि दिउँसो २ ः ०० वजे सम्म खाजा खाने समय कटाएर नियमित पढाउन थालिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ ।
“खाजा खाने समयलाई शिक्षण कार्यमा सदुपयोग गरी दिउँसो २ ः ०० वजे सम्म नियमित कक्षा चलाइएको छ, विद्यार्थी विद्यालयमा आउन पाउँदा असाध्यै खुशी भएका छन्” प्रअ लम्सालले भन्नुभयो ।
केही पालिकाका विद्यालयले भने दशै अघि परिक्षा सक्ने गरी प्रथम त्रैमासिक परिक्षा सञ्चालन गरिरहेका छन् । कोरोनाको कहर कम हुदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ २७ गते देखि नै रामपुर नगरपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन भइरहेको नगर शिक्षा अधिकृत बिकल काफ्ले बताउनुहुन्छ ।
“नगरपालिका भित्रका सबै विद्यालयमा धमाधम पढाई भइरहेको छ, केही विद्यालयमा प्रथम त्रैमासिक परिक्षा पनि सञ्चालन भएका छन्, नियमित रुपमा विद्यालय खुल्न थालेपछि विद्यार्थी पनि उत्सुक छन्” काफ्लेले भन्नुभयो । धेरै समय पछि पढाई भएतापनि शिक्षण सिकाई कार्यप्रति विद्यार्थी उत्सुक रहेको पूर्वखोला गाउँपालिका ३ अर्खडाँडा स्थित जनउज्ज्वल आधारभुत विद्यालयका शिक्षक डिल्लीराज पंगेनीले बताउनुभयो ।
माथागढी गाउँपालिकाका सबै विद्यालयमा अहिले धमाधम पठनपाठन चलिरहेको छ । स्वास्थ्य सुरक्षालाई अपनाउँदै गत भदौ २७ गते देखि नै विद्यालय सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।
यस्तै रम्भा गाउँपालिकाले कोरोनाको कहर कम हुन थालेपछि सबै विद्यालयमा पठनपाठन सञ्चालन कार्य अगाडी बढाएको छ । यहाँ विद्यालय सुरु गर्दाको बखत धेरै विद्यार्थी भएका विद्यालयले केही दिन आलोपालो गरी कक्षा चलाइयो, अहिले सबै विद्यालयमा नियमित रुपमा पठनपाठन कार्य चलिरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
पाल्पाका सबै पालिकामा स्वास्थ्य सुरक्षा सामग्री अपनाएर साबधानीपूर्वक पठनपाठन कार्य चलिरहेको शिक्षा विकास समन्वय तथा इकाई कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेल बताउनुहुन्छ ।
केही पालिकाका विद्यालयले बन्दाबन्दीको समयमा ईन्टरनेटको माध्यमबाट कक्षा सञ्चालन गरेका थिए । ईन्टरनेटको पहुँच नभएका विद्यार्थीले बन्दाबन्दीको समयमा घरमै खेल खेलेर समय बिताउन बाध्य थिए ।
अहिले भने विद्यालय खुलेपछि नियमित स्कुल पोशाकमा कापी कलम बोकेर विद्यालय जाने गरेको अभिभावक सुस्मा भट्टराईले बताउनुभयो । मास्क, स्यानीटाइजरको अनिवार्य प्रयोग गरेर विद्यार्थीहरु अनिवार्य रुपमा विद्यालय जान थालेका छन् ।

SHARE