पूर्वखोला गाउँपालिकामा महिला सभापति

0
312

सुशीला रेग्मी
रामपुर (पाल्पा), १३ असोज : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाल्पामा एक पालिकामा महिला नेतृत्व आएसंगै पार्टीभित्र र बाहिर निकै चर्चा चलेको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको सभापतिमा विष्णुकुमारी आचार्यको नेतृत्वले महिलामा उत्साह थपिएको छ ।
यहाँको दश पालिकामध्ये नौ पालिकामा निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको छ । नौ पालिकामध्ये आठ पालिकाको सभापतिमा पुरुष निर्वाचित छन् ।
गत असोज ९ गते भएको पालिका अधिवेशनले सर्वसम्मत रुपमा आचार्यले सभापतिको नेतृत्व गर्ने अवसर पाउनुभएको छ । सभापतिमा पुरुष उम्मेदवार पनि आकाङ्क्षी नभएका भने होइनन् । तर यहाँका नेतृत्व पङ्क्तिले यस पटक महिलालाई सम्मान गर्दै गाउँपालिकामा सभापतिको जिम्मेवारी सुम्पेका छन् ।
उहाँको नेतृत्वले अहिले गाउँघर तथा जिल्ला तहमा व्यापक चर्चा छ । परिवारको साथ सहयोग र पार्टीका नेता कार्यकर्ता सबैको सर्वसहमतीमा पाएको जिम्मेवारीलाई पुरा गर्ने उहाँको अठोट छ ।
उहाँ भन्नुहुन्छ, “महिलालाई पार्टीमा चलायमान बनाउने र भोलीका दिनमा वडा तह देखि माथिल्लो निकाय सम्म नेतृत्व गर्न सक्ने गरी महिलालाई सशक्त बनाउनेछु, गाउँ गाउँका महिलाको समस्यालाई बुझेर पार्टीमार्फत उनीहरुका हक अधिकारका निम्ति सदैव लड्नेछु” ।
यसभन्दा अघि पेशाले उहाँ प्रावि तहको स्थायी शिक्षक । शिक्षण कार्यबाट अवकाश लिई लोकतान्त्रिक पार्टीको सिद्धान्त र नीतिमा रहेर उहाँमा वडा तह देखि नै पार्टीमा काम गर्दै आउएको अनुभव छ ।
“शिक्षण पेशाको क्रममा बुद्ध माविमा कालिका प्राविबाट दरबन्दी सहित सरुवा भएर जाँदा छ महिना मलाई मेरो परिवार नेपाली कांग्रेसमा आस्थावान् भएकै कारण हाजिरी गर्न दिइएन, हाजिरी बिना तीन महिना नियमित विद्यालय गएर पढाए, त्यसपछि प्रअले कक्षामा पढाउन नजानु भनेर निर्देशन दिएपछि म घरमै बसे, केही समय पछि पुनः सरस्वति मावि जल्पा सरुवा भई शिक्षण गर्न थाले” उहाँले हिजोको दिन सम्भmदै भन्नुभयो ।
शिक्षण पेशाका क्रममा घरपरिवार, आफन्त नेपाली कांग्रेस पार्टी संग जोडिएकाले धेरै चुनौती सामना गर्नुप¥यो । करिव २३ वर्ष सम्म शिक्षण पेशामा अनुभव लिनुभएकी उहाँ अवकाश प्राप्त भए पश्चात खुलेर नेपाली कांग्रेसमा राजनीति गर्न थाल्नुभयो ।
यसभन्दा अघि पूर्वखोला गाउँपालिका वडा नं ३ को कार्यवाहक सभापति भएर काम गर्नुभएकी उहाँ हाल ट्रेड युनियन कांग्रेस पूर्वखोलाको उपसभापति हुनुहुन्छ ।
पाल्पामा ८१ वडामा एक महिला सभापति
पाल्पाको ८१ वडामध्ये एक वडामा मात्र सभापति पदमा महिला नेतृत्वले स्थान पाएको छ । बगनासकाली गाउँपालिका वडा नं २ मा गत भदौ २१ गते भएको वडा अधिवेशनमा सीताकुमारी गहिरेले वडा सभापतिमा नेतृत्व हात पार्न सफल हुनुभएको छ ।
निर्वाचन प्रक्रियामार्फत गहिरेले प्रतिष्पर्धी राजेन्द्र रानालाई पराजित गरी आफू विजयी हुनुभएको छ । यस वडामा १५१ क्रियाशिल सदस्यमध्ये ८१ मत खसेकोमा निर्वाचित गहिरेले ४० मत र प्रतिष्पर्धी रानाले ३९ मत पाउनुभयो भने दुई मत बदर भएको छ ।
सबैको सर्वसहमतीमा यस पटक महिलालाई नेतृत्व गर्ने अवसर माग गर्दा नेतृत्व पङ्क्तिले सुनुवाई नगरेपछि चुनावी मैदानबाट विजयी हुने मौका आफूले पाएको सभापति गहिरे बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पार्टीभित्र सक्षम, शिक्षित र नेतृत्व गर्न सक्ने महिला छन् तर अझैपनि पुरानो सोचाईका कारण महिलालाई नेतृत्वबाट वञ्चित गराइएको छ, १३ औँ महाधिवेशनमा पनि मैले वडा सभापतिमा माग गरेको थिए तर महिला भएकै कारण पछाडी पारियो ” –“यस पटक त सर्वसहमतीमा भए हुन्छ नभए चुनावी प्रक्रियामार्फत सभापतिको नेतृत्व गर्नु भनेर आँट गरेको सफल भए” उहाँले उत्साहित हुदै भन्नुभयो ।
विसं २०४१÷०४२ देखि नै नेपाली कांग्रेसमा सक्रिय भएर लाग्नुभएकी उहाँ स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट प्रतिनिधित्व गर्दै वडा महिला सदस्य, नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघ वडाको सभापति हुनुहुन्छ ।
लामो समय सम्म पार्टीको सिद्धान्त र अनुशासनमा रही काम गरेतापनि महिला नाम जोडिएकै कारण नेतृत्व तहसम्म पुग्न नदिएको रामपुरकी महिला नेतृ सरस्वती डोटेल बताउनुहुन्छ । उहाँ यस क्षेत्रकै ज्येष्ठ महिला नेतृ हुनुहुन्छ ।
गत असोज ९ मा भएको नगर अधिवेशनमा उहाँ तीन पुरुष उम्मेदवार संग नगर उपसभापतिमा लड्नुभयो । तर पार्टीमा आफ्नो लगाव, त्याग, बलिदान र निरन्तर सक्रियता भएपनि महिला भएकै कारण उपसभापतिबाट पराजित हुनु परेको उहाँ गुनासो गर्नुहुन्छ ।
“महिलामा क्षमता र खुबी भएपनि नेतृत्व गर्ने अवसर दिइदैन, तीन पुरुष संग साहसका साथ भिड्ने म एकमात्र महिला थिए, मलाई उम्मेदवारी दर्ता गर्नुअघि नेतृत्व पङ्क्तिले छोड्नुस भनेर दबाब दिन थाल्नुभयो, चुनाव हारिए केही पिरलो छैन, उम्मेदवारी फिर्ता लिन्न भनेर अठोटका साथ मैदानमा निस्किए” उहाँले भन्नुभयो ।
पार्टी नेतृत्वमा वडा तह देखि केन्द्र तहसम्म नै महिलालाई स्थान दिन हिचकिचाउने प्रवृत्ति छ । राज्यले तोकेको आरक्षण कोटा बाहेक अन्य कोटामा सक्षम र सबल भएपनि महिलालाई नेतृत्व तहमा भरसक स्थान दिइदैन ।
यस्तो अवस्थामा पाल्पामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा एक पालिका र एक वडामा भएपनि दुई महिलाले नेतृत्व गर्ने अवसर पाएपछि महिला जागरुकता बढेको छ ।
रामपुर नगरपालिकामा नेत्रप्रसाद भट्टराई, रिब्दिकोट गाउँपालिकामा रामचन्द्र पाण्डेय, बगनासकालीमा थानेश्वर तिमिल्सेना, निस्दीमा पुर्णबहादुर खाँण, पूर्वखोलामा विष्णुकुमारी आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दिपक थापा, तिनाउँमा प्रेम पाण्डे र रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल सभापति पदमा चुनिनुभएको छ ।
रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रिया र अन्य पालिकामा भने सर्वसहमतबाट नयाँ नेतृत्व चयन भएको हो । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने उद्घाटन सत्रमात्र सम्पन्न गरेर बन्द सत्र सुरु नहुँदै नगर अधिवेशन स्थगित गरिएको छ ।
तानसेन नगरपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । दुई जना आकाङ.क्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसहमतीमा उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ ।

SHARE