सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ भदौ : अहो ! तरकारी खेती गर्दा गर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ? एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन ।
व्यावसायीक रुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो । यस व्यावसायबाट सफलता पाउँदै गर्दा झन् व्यावसायमा मोह बढीरहेको छ ।
रामपुर नगरपालिका वडा नं ५ राङभाङ बस्ने गौतमलाई अझैपनि यो व्यावसायबाट टाढा रहन मन छैन । उहाँको परिवारको दरिलो आम्दानी नै तरकारी व्यावसाय बनेको छ ।
उहाँ भन्नुहुन्छ, “तरकारी खेतीबाट राम्रो सफलता पाए, छोराछोरीको पढाई खर्च, घरायसी खर्च राम्रो संग चलेको छ, निरन्तर लागि परेर काम गरियो भने फाइदा पनि राम्रै छ” ।
रोजगारको शिलशिलामा दुई दशक समय भारतमा बसोबास गर्नुभएका गौतमले गाउँ फर्के लगत्तै तरकारी खेती शुरु गर्नुभएको हो । तरकारी खेतीबाट दाम मात्र नभई समाजमा राम्रो पहिचान बनाउनुभएको छ ।
यसै व्यावसायबाट घरायसी खर्च, चार जना छोराछोरीको पढाई खर्च राम्रैसंग धान्नुभएको छ । मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाई गर्नुहुन्छ ।
“जति कमाई गरेको छु, त्यसमा धेरै सन्तुष्ट छु, पाँच÷सात रोपनी जति जग्गामा तरकारी हुन्छ, अन्य जग्गामा अन्नबाली लगाएको छु, यसमै आनन्दको जीवन जिउँन पाएको छु” उहाँले हसिलो मुद्रामा भन्नुभयो ।
उहाँको घरमा बाह«ै महिना विभिन्न जातका तरकारी उत्पादन हुन्छ । घरबाटै धमाधम बिक्रि हुने हुदा व्यावसायमा झण्झट छैन । अहिले उहाँले टनेलभित्र लगाउनुभएको गोलभेडाँको उत्पादन शुरु हुदैछ भने काउली बन्दा लगाउने तयारी गर्नुभएको छ ।
तरकारी उत्पादन हुनु अगावै नै व्यापारीले अर्डर गर्ने हुदा पनि व्यापारीलाई माग अनुसार पु¥याउन नसकिएको उहाँका श्रीमती टिकीसरा गौतम बताउनुहुन्छ ।
“तरकारीको फल लाग्न शुरु भएपछि टिप्नु भन्दा पाँच÷सात दिन अघि नै व्यापारीले पहिल्यै माग गर्नुहुन्छ, उत्पादन गरेमात्रै भयो, कसरी तरकारी बेच्ने भन्ने पिरलो छैन” उहाँले भन्नुभयो ।
शुरुका वर्ष डोकोमा बोकेर बजारमा तरकारी पु¥याउने गौतम दम्पत्ति अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दङ्ग हुनुहुन्छ । श्रीमान् श्रीमतीको दिनचर्या नै तरकारी लगाउने, गोडमेल गर्ने गर्दैमा बितेको छ ।
यस्तै रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभव पश्चात् गाउँ फर्केर तरकारी व्यवसाय शुरु गर्नुभएको छ ।
तीन वर्ष अघि हाम्रो आधुनिक कृषि फार्म दर्ता गरी करिव दश रोपनी जग्गामा तरकारी व्यावसाय थालनी गर्नुभएको छ । तरकारी खेतीसंगै सयपत्री फूल खेतीलाई पनि जोड दिनुभएको छ । उहाँको फार्ममा हाल बोडी, सिमी लगायतका तरकारीको उत्पादन भइरहेको छ भने दशै तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा, सयपत्री फूल लगाउनुभएको छ ।
“दश वर्ष सम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पिडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुशीसाथ जीवन बिताएको छु” थापाले भन्नुभयो ।
पत्थरिलो ईट्टा पारेर छाडिएको कहिल्यै प्रयोगमा नआउँने जग्गा भाडामा लिएर थापाले तरकारी व्यावसाय शुरु गर्नुभएको हो । अहिले त्यही पत्थरिलो जमिनमा हरियाली तरकारी फलेर लाखौँको आम्दानी होला भन्ने कसैलाई पत्यार लागेको थिएन । त्यही पत्थरिलो जमिनबाट वार्षिक हाल पाँच लाख आम्दानी हुने गरेको छ ।
समय अनुसारका तरकारी लगाउन प्रबिधि नजान्दा समस्या परेको उहाँको अनुभव छ । स्थानीय सरकारले अनुदानका कार्यक्रम मात्र नभई कृषकलाई दीर्घकालिन समय सम्म टिक्ने प्रबिधि दिएमा तरकारीबाट धेरै कमाउन सकिने थापाको अनुभव छ ।
अब दश रोपनी जग्गा थप गरी २० रोपनीमा तरकारी लगाएर वार्षिक रु दश लाख कमाउने योजना रहेको अर्का सञ्चालक लालबहादुर थापा बताउनुहुन्छ ।
रामपुर नगरपालिकामा पछिल्लो समय व्यावसायीक तरकारी खेतीमा कृषक आकर्षित भएका छन् भने धेरै जना कृषकहरु व्यावसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
शाखा प्रमुख पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यावसाय दर्ता गरेका वा समुहमा आबद्ध कृषकलाई उन्नत तथा वर्णाशङ्कर तरकारीको वीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चीङ्ग, थोपा सिंचाई सेट, प्लाष्ट्रिक पोखरी सिट लगायतका कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ ।
“केही कृषकले दीर्घकालिन रुपमा व्यावसाय गर्ने गरी सोही अनुसारको संरचना तयार पारी तरकारी खेतीमा लाग्नुभएको छ, व्यावसायउन्मुख हुदै गरेका कृषकले पनि क्रमश ः जग्गा बिस्तार गरी व्यासायमा लाग्न थालेको पाइएको छ, कार्यालयमा तरकारी खेती गर्न ईच्छुक कृषक बेला बेलामा परामर्श लिन आउने गर्नुहुन्छ” शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।
मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने ठूला व्यासायीक कृषकलाई प्रस्तावनामा आधारित नगद अनुदान समेत दिदै आएको छ । कृषि शाखाबाट कृषकलाई वातावरणमैत्री, जैविक विषादी उपलब्ध, प्राबिधिक ज्ञानको लागि स्थलगत घुम्ती तालिम कृषकका खेतबारीमै सञ्चालन गरिदै आइएको छ ।
खेतबारी खनजोतका लागि हाते ट्याक्टर जस्ता साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराइएको छ । कृषि शाखाको सहयोगमा विभिन्न कृषि सामग्री तथा वीउ विजन, तालिम, प्राबिधिक ज्ञान सीप पाएपछि यहाँका कृषक मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन् ।