बाँझकटेरीको स्मार्ट कृषिः प्रसाद बाडेझै कृषकलाई भैँसी

0
1305

तिलाचन पाण्डे
भदौ२७,२०७८ गुल्मीः मदाने गाउँपालिका वडा नम्वर तीन बाँझकटेरीकी शान्ता सामतलाई स्मार्ट कृषि कार्यक्रम मार्फत पाएको पाडी पटक्कै चित्त बुझेको छैन ।
त्यसै माथी अझ नौ हजार दिनुपर्ने भन्दै चिरकटो पठाएका छन् । नौ हजार दिनुपरे त्यो सानो पाडी पनि फिर्ता गरिदिने उनले बताइन् ।
उनले उपभोक्ताहरु संग कुनै छलफल पनि नगरी सिधै सानो पाडी दिएको र केही पनि नसोथी आफूहरुलाई ठग्नु ठगेको उनको आरोप छ ।
अझै त्यसै माथी नौ हजार माग्दै चिरकटो पठाएकाले आफूहरुलाई बौलाउने बनाएको उनको गुनासो छ ।
यस्तै सोही स्थानका राजु सामतलाई पनि सानो पाडी भिराएकाले उनलाई चित्त बुझेको छैन । उनले कुनै छलफल नै नगरी आफू खुसी पाडा ,पाडी ल्याएको र त्यी पाडा पाडी देख्दा ४५ हजार ५०० नपर्ने भएकाले समितिले जवाफ दिनुपर्ने बताए ।
उनको पनि गुनासो कुनै छलफल पनि नगरी पाडा पाडी प्रसाद बाँडे जस्तो गरी बाडेको र हिसाव सार्वजनिक नगरेकाले शंका लागेको बताए ।
यस्तै राधिका सामतले पनि स्मार्ट कृषिले आफूहरुलाई ठगेको बताइन् । स्मार्ट कृषिले राम्रै गर्ला भनेको उल्टै नौ हजार मागेकाले पाडीलाई नै फिर्ता गर्ने अबस्थामा पुगेको उनले बताइन् ।
यी पाडीहरुलाई यती धेरै पैसा नपर्ने भन्दै पाडीलाई नै ४५।५० हजार परे भैसीलाई कति पर्ला भन्दै उल्टै प्रश्न गरिन् ।
त्यहाँका कृषकहरुले समितिले साना पाडा पाडी ल्याई बिल धेरैको बनाई कृषकलाई ठगी गरेको आरोप लगाएका छन् ।

समिति नै जवाफदेही बन्नु पर्छ : प्रमुख प्रशासकीय
स्मार्ट कृषि कार्यक्रममा गाउँपालिकाले १० लाख रुपैयाँ लगानी गरेको थियो । गाउँपालिकाको पनि लगानी भएकाले स्मार्ट कृषिको समिति नै जवाफदेही बन्नु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्धबादुर पछाइँले जानकारी दिए ।
यदि कहि कतै गुनासाहरु भए गाउँपालिकामा निवेदन दिन र साना पाडा पाडीहरु फिर्ता गर्न समेत उनले आग्रह गरे ।
कोभिडका कारणले गर्दा महंगो पर्न गयो : उपाध्यक्ष
स्मार्ट कृषिका उपाध्यक्ष चक्रबन्धु भुसालले कोभिडका कारणले खरिदमा केही महंगो पर्न गएको स्विकार गरेका छन् ।
आफूहरुले भने जस्तो ठुला पाडा पाडीहरु पनि नआएको भन्दै उनले कोभिडका कारणले रोजी रोजी र छानी छानी ल्याउन नसकिएको बताए ।
साना पाडा पाडी ल्याई ठुलाको बिल भयो भन्ने कृषकहरुको गुनासो छ नी भन्ने प्रश्नमा उनले आते जाते , लोड अनलोड,ढुवानी संगै चिकित्सकले प्रमाणीत गर्दा समेत पैसा लिएकाले धेरै देखिएको बताए ।
किसानबाट २० प्रतिशत लिने निर्णय नै छ
किसानलाई दिएको पाडा पाडीको खरिद मुल्यको २० प्रतिशत कृषकबाट उठाउने समितिको निर्णय भएको भुसालले बताए । यो कुनै अनियमितता नभएको उनको दाबी छ ।
आफूहरुले कुनै किसानलाई लैनो भैसी दिन्छौ भन्ने आश्वासन नदिएको भन्दै कोभिडका कारणले गर्दा सबै हिसाव सार्वजनिक गर्न नसकिएको उनको भनाई छ ।
आन्तरिक रुपमा सबै हिसाव पारदर्सी रहेको भन्दै केही समय पछि सार्वजनिक सुनुवाई गरेर सबैलाई हिसाव सार्वजनिक गर्ने योजना रहेको भुसालले बताए ।
समितिले तराइबाट ४ वटा पाडा, २२ वटा पाडी र २ वटा गाई खरिद गरी ल्याएको बताए ।
गत आर्थिक बर्ष कार्यक्रमका लागि कृषि ज्ञानकेन्द्रको ३७ लाख, गाउँपालिकाको १० लाख रपैयाँको कार्यक्रम रहेको थियो ।
यता कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले ज्ञान केन्द्र मार्फत गएको पैसाबाट संकलन केन्द्र, भकारो सुधार ,च्याप कटर खरिद लगायतका कार्यहरु गरेको बताए ।
समितिले भैसी खरिद गर्ने प्रस्ताव ल्याएको थियो आफूहरुले त्यो अस्विकार गरेको उनले बताए । गाउँपालिकाको रकमबाट समितिले पाडा पाडी खरिद गरेको उनले बताए ।
केही बर्ष अगाडी इश्मा गाउँपालिकाले पनि तराईबाट साना पाडा ल्याई ठूला पाडाको बिल बनाएको र पाडालाई ठूला बनाउनका लागि तेल खुवाएको रहस्य खुलेको थियो ।

SHARE