दाङको सिमा क्षेत्रमा भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता

0
312
फोटो क्याप्सनः दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ भैसाहीँनाका नाकामा टावर टिपाउनको लागि रुखमा झुन्डाएर राखिएको फोन । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
दाङ, भदौ २३ गते । भारतसंग जोडिएको दाङको सिमाक्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा आफुहरुलाई समस्या भएको नाकाबासीहरुले बताएका छन् । राजपुर गाउँपालिका विशेषगरी सिमाक्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा भारतसंग जोडिएका दाङका अधिकांश नाकाक्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई समस्या भएको नाकाबासीको भनाई छ ।
गाउँपालिकाको अधिकांश (१, ६ र ७) वडाको बस्तीमा टेलिकमको नेटवर्क नआउँदा फोनगर्न डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । राजपुर गाउँपालिका वडा नम्बर ६ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले सिमाक्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण थालेको दुईवर्ष हुन लाग्दा पनि हालसम्म सञ्चालनमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो,‘घरबाट टेलिकमको टावर देखिन थालेको दुईवर्ष भयो, तर आजसम्म मोबाइलमा नेटवर्क छैन ।
राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानका निवासी मंगलसेनले नाकाको मुख्य समस्या भनेकै सञ्चार भएको बताउनुभयो । उहाँले भन्नुभयो, सञ्चार सेवा नहुदाँ धेरै कामबाट बञ्चित हुनु परेको छ, एक कल फोन गर्न डाँडाकाडा उक्लिनु पर्ने बाध्यता छ । भारतसंग जोडिएको दाङमा साना ठूला गरि ३४ वटा सिमाक्षेत्रहरु रहेका छन् । जसमध्य गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका बाहेक अन्य कुनै पनि नाकाक्षेत्रमा सञ्चारको सेवा नहुदाँ वर्षेनी नाकाबासीहरुले सास्ती खेप्दै आएका हुन् । सिमाक्षेत्रमा नेपाल टेलिकमको टावर नहुदाँ नाकामा बसोबास गर्ने नाकाबासीहरुले भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । राजपुरको १ नम्बर वडाको पटौलीनाका र ७ नम्बर वडाको सुन्पत्थरीनाका जोड्ने भिरमा टावर निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको छ ,केही प्राविधिक कुराहरु बाकी छन्, त्यो पनि अव दुई महिना भित्रमा संचालनमा ल्याउने तयारीमा छाँै, अध्यक्ष केसीले भन्नुभयो । वर्षात सकिय लगत्तै राजपुरको ६ नम्बर वडाको खांग्राामा पनि तत्कालै टावर निर्माणको काम शुर हुने उहाँले बताउनुभयो ।
फोटो क्याप्सनः दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ भैसाहीँनाका नाकामा टावर टिपाउनको लागि रुखमा झुन्डाएर राखिएको फोन । तस्बिरः दिवाकर पोख्रेल

SHARE