काँग्रेसको महाधिवेशन :पाल्पामा युवा जुर्मुराउँदै ‘गुटको राजनीति अन्त्य गर्न युवा नेतृत्व’

0
513

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० भदौ : आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा शहर, बजार, जिल्ला तहमा मात्र नभई गाउँ–गाउँमा चर्चाको विषय बनेको छ ।
अघिल्ला महाधिवेशनको तुलनामा भन्दा यस पटक हुने भनिएको महाधिवेशनमा चुनावी सरगर्मीले गाउँ तताएको छ । यतिबेला पाल्पामा भने युवा नेतृत्वको माग पार्टी कार्यकर्तामा छ ।
अबको महाधिवेशनमा युवापुस्ताको सक्रियता बढ्दो रहेको हुदा नयाँ विचार, केही गर्छु भन्ने जोँश जाँगर भएका युवापुस्ता नेतृत्वमा आउनुपर्ने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा केन्द्रिय सदस्य राजनप्रसाद पन्त बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पार्टीलाई सशक्त रुपमा अगाडी बढाउन सबै क्षेत्र मिलाएर लैजान सक्ने, अभिभावकत्वको भूमिका निभाउन सक्ने जुझारु युवा नेतृत्वको खाँचो छ” ।
अबको महाधिवेशनले गाउँ, नगर र मुलुकको नेतृत्व युवाले गर्न पाएको खण्डमा पार्टीमा केही नयाँ परिवर्तन आउने युवावर्गको आशय छ । वडा तह देखि केन्द्र तह सम्म नै सबै पंक्तीलाई मिलाएर पार्टी चलाउन सक्ने युवाको नेतृत्व अबको महाधिवेशनमा चुनिएर आउनुपर्ने महासमिति सदस्य कृष्णप्रसाद बस्यालको भनाई छ ।
नेपाली काग्रेस पार्टीको नीति, सिद्धान्तमा रहेर अनुशासनपूर्वक काम गर्ने युवाको खाँचो रहेको ज्येष्ठ महिला नेतृ सरस्वति डोटेल बताउनुहुन्छ ।
महाधिवेशन नजिकिएसँगै वडा, गाउँ, नगर, जिल्ला, केन्द्र तहमा युवावर्गको नेतृत्व हुनुपर्ने चर्चा चलेको पाइन्छ भने पुराना नेतृत्वले पनि पाकापुस्तालाई नेतृत्वमा पु¥याउनुपर्ने मत मतान्तर चलिरहेका छन् ।
पुराना पुस्तालाई समेट्दै अग्रज राजनीतिज्ञ अगुवालाई सम्मान गर्दै अबको महाधिवेशनमा वडा, गाउँ, नगर, जिल्ला तथा केन्द्र तहमा युवाको नेतृत्व हुनुपर्ने रामपुर नगर कार्य समितिका सभापति नेत्रप्रसाद भट्टराई बताउनुहुन्छ ।
पार्टीभित्र गुटको नेतृत्व मौलाएको हुदा यस पटक गुटको राजनीति अन्त्य गराउन युवाको नेतृत्व, समाजको आवश्यकतालाई बुझेर अभिभावकीय भूमिका निभाउन सक्ने नेतृत्व नै आवश्यकता रहेको धेरैको ठम्याई छ ।

पार्टीमा देखिने गुटको राजनीती अन्त्य गरी अबको महाधिवेशनमा नयाँ इतिहास रच्नका निम्ति युवावर्गको नेतृत्व आवश्यक रहेको यवा विश्वनाथ कंडेल (सुन्दर) बताउनुहुन्छ ।
“लोकतान्त्रिक पार्टीभित्र अहिले गुट उपगुटले पार्टीमा नराम्रो छाप पारेको छ, यसभन्दा अगाडीका महाधिवेशनमा लगातारजसो नै पुराना नेताको मात्रै नेतृत्व देखिन्छ तर नेतृत्व अनुसारको काम हुन सकेन, गुटले गर्दा पार्टीभित्र बिकृती मौलाएको छ, अबको नेतृत्व युवालाई नै दिनुपर्छ” उहाँले भन्नुभयो ।
पार्टीभित्रको गुटले आन्तरिक द्धन्द्ध र कलह निम्त्याएको हुदा अब गुटगत राजनीति अन्त्य गर्न युवा नेतृत्वको खाँचो रहेको उहाँको भनाई छ ।
युवा संगठनलाई बलियो बनाउने, सबै वर्गका नागरिकको समस्याको समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीमा बिशेष पहल गर्ने नेतृत्व पार्टीमा आवश्यक रहेको युवा दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ ।
महाधिवेशनमा युवापुस्ताको सरगर्मी बढेका बेला पुराना नेतृत्व पनि चुनावी मैदानमा उत्रने पार्टीमा चर्चा छ । जीवन नै राजनीति र सामाजिक सेवामा बिताउनुभएका पाल्पाका पार्टी उपसभापति देवराज ढकाल यस पटकको महाधिवेशनमा सभापति पदमै लड्ने बताउनुहुन्छ ।
“राजनीति गर्न उमेरले छेक्दैन, सक्दासम्म पार्टीमै बसेर काम गर्ने प्रचलन छ, ७० वर्ष हुदैमा बिश्राम लिन मन छैन, जिल्ला सभापति लड्ने तयारी गरेको छु तर सबै वर्ग, पङ्क्ती, क्षेत्रलाई मिलाएर जानुपर्छ” उपसभापति ढकालले भन्नुभयो ।
जीवनको पाँच दशक बढीको समय त राजनीतिमै बित्यो । उहाँले ०७४ सालको लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुुभएको थियो ।

पाल्पामा राजनैतिक इतिहास
बनारसमा अध्ययन गर्ने क्रममा पाल्पाका लक्ष्मण खनाल र रामप्रसाद शर्मा लगायतका व्यक्ति विसं २०२८ मा विश्वेश्वरप्रसाद कोइरालाको सम्पर्कमा आएपछि त्यसको प्रभाव पाल्पामा राम्रै रह्यो । त्यस समयमा बनारसमा विपिको विचार र सिद्धान्तसंग सम्बन्धित कुरा सिकाइने हुदा पनि त्यहाँबाट विपिको विचारप्रति धेरैको झुकाव बढ्दै गयो ।
तत्कालिन समयमा बनारसमा लक्ष्मण खनाल प्रधान सम्पादक रहेको तरुण नामक पत्रिकामा नेपाली कांग्रेसका धारणा, विचारलाई समावेश गरेर प्रकाशन गरिन्थ्यो । त्यहाँबाट निस्केको पत्रिका नेपालमा ल्याएर भूमिगत रुपमा सबैले पढ्न थाले । सो पत्रिकालाई नेपाली कांग्रेस पार्टीको मुखपत्रका रुपमा लिइन्थ्यो ।
बनारसबाट आफ्नो अध्ययन सकेर पाल्पाको मोहनकन्या स्कुलमा विपिको साहित्यिक कृती पढाउने क्रममा रामप्रसाद शर्मा गिरफ्तारी भई जेल पर्नुभयो । तरुण पत्रिकाका प्रधान सम्पादक लक्ष्मण खनाल बनारसबाट पाल्पा आउने क्रममा गिरफ्तारी भई जेल पर्नुभयो । जेलबाट निस्केपछि २०२९÷०३० तिर पाल्पामा नेपाली कांग्रेसको भूमीगत रुपमा संगठन बन्यो । पाल्पाको पहिलो सभापतिका रुपमा भगवतिध्वज राजलवट सभापति बन्नुभयो ।
तत्कालिन समयमा भगवतिध्वजको नेतृत्वमा रामप्रसाद आत्रेय, ठाकुरचन्द्र बिप्र, प्रकाशलाल श्रेष्ठ लगायत केही सिमित व्यक्तिलाई मात्रै समावेश गरी भूमीगत कार्यसमितिमा समावेश बनाएर संगठन अगाडी बढ्यो ।
विसं २०३४ मा वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री तत्कालिन नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति शेरबहादुर देउवा पाल्पा आउँदा उहाँले विपिको विचार र सिद्धान्त बिस्तार गर्नुभयो । सोही समय कृष्ण नेपालको सभापतित्वमा नेबिसंघ पाल्पा गठन भयो ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट ०३५ मा विद्यार्थी आन्दोलन शुरु भयो । राजनप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, विद्यार्थी आन्दोलनका अगुवा हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको लागि समिति गठन भई पार्टी बिस्तार हुदै गयो ।
जिल्लामा बहुदलीय व्यवस्थाको प्रभाव राम्रो रहेको हुनाले प्रशासनले त्यसलाई निषेध गर्न तत्कालिन सभापति भगवतिध्वज राजलवट, ठाकुरचन्द्र विप्र, राजप्रसाद पन्त, कृष्ण नेपाल, चन्द्रबहादुर केसी, नारायण कोइराला लगायतका व्यक्ति गिरफ्तारीमा पर्नुभयो । छ महिनापछि भैरहवा कारागारबाट जेलमुक्त भएपछि बहुदलको प्रचार प्रसारमा सक्रिय भएर लाग्नुभयो ।
बहुदलीय संयन्त्र निर्माण गरेपछि कांग्रेसको नेतृत्वमा बहुदलीय व्यवस्थाले नेतृत्व लिने अवसर पायो । देशव्यापी रुपमा गणना गर्दा बहुदलीय पक्षले हार बेहोर्नुप¥यो । त्यस समय २४ लाख पञ्चायत र २० लाख बहुदलको पक्षमा थिए । जनमतको परिणाम धाँधलीपूर्ण रहेको भन्दै सो परिणामलाई स्वीकार गर्ने कि नगर्ने सम्बन्धमा विपि कोइराला २०३७ मा पाल्पा आइपुग्नुभयो ।
विपिले देशव्यापी रुपमा कार्यकर्ताको राय लिएर जनमत संग्रहको परिणाम स्वीकार गर्ने तर पञ्चायतमा सहभागी नहुने निर्णय गर्नुभयो । ०३७ मा वर्गीय संगठनका सदस्यता लिएकाले मात्रै पञ्चायतको चुनावमा भाग लिन पाउने व्यवस्था रहेकोमा कांग्रेसले देशव्यापी रुपमा बहिस्कार ग¥यो ।
पञ्चायत बिरुद्धको आन्दोलन सुस्त गतिमा अगाडी बढ्यो । ०४२ मा कांग्रेसले देव्यापी रुपमा सत्याग्रहको आन्दोलन घोषणा ग¥यो । यसको पनि पाल्पामा राम्रै प्रभाव रह्यो । यहाँका ४२ जना सत्याग्रही गिरफ्तारीमा परी जेल जीवन बिताए ।
मुलुकमा ०४६ मा बहुदल आएपश्चात् पाल्पामा कांग्रेसको संगठन झन् बलियो बन्दै गयो । ०४८ सालको आमनिर्वाचनमा पाल्पाका तीनवटै क्षेत्रमा कांग्रेसको नेतृत्व रह्यो ।
त्यस निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा कालुराम राना, क्षेत्र नं २ मा गम्भीरजंग कार्की र ३ मा हरिप्रसाद नेपालले विजयी हासिल गर्नुभयो । त्यसपछि पार्टी नेतृत्वको फेरबदल हुदै सशक्त रुपमा कांग्रेस अगाडी बढ्यो ।
तोकिएको समयमा महाधिवेशन नहुनु, पटक पटक मिति सर्दै जादा पार्टीभित्र विभिन्न गुटगत राजनीति मौलाउँन थालेको भन्दै छिटो भन्दा छिटो महाधिवेशन गरी नयाँ नेतृत्वले गाउँ, नगर, जिल्ला, केन्द्र तथा मुलुकको अभिभावकत्व जिम्मेवारी निभाएर पार्टीको सिद्धान्त अनुसार काम गर्नुपर्ने कार्यकर्ताको सुझाव छ । पाल्पामा भदौ २१ गतेबाट वडा तहको अधिवेशन शुरु हुदैछ ।

SHARE