सन्चारमा महिला पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न

0
478

साउन ३०,२०७८ पाल्पा :सन्चारमा महिला पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ। भेलाले बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह गठन गरेको छ ।
जसको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा, कोषाध्यक्षमा जमुना पाण्डे सदस्यहरूमा सुमित्रा कँडेल, अन्जु पाण्डे, कल्पना भट्टराई, अनु खनाल, सीमा भट्टराई, बन्दना पोखरेल, मीना कुमाल, रीता पचभैया, शर्मिला थापा र सरस्वती दङ्गाल चयनहुनु भएको छ।
कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । अधिकार प्राप्तिका लागि महिला पत्रकार एकजुट हुन सुझाएका थिए । क्यामेरा बोकेर फिल्डमा समचार खोज्ने महिला पत्रकारको संख्या कम रहेको भेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सञ्चारिक समूहका महासचिव अमृता अनमोलले बताउनुभयो । धेरै महिला सञ्चारकर्मी एफएम रेडियो र टेलिभिजनमा प्राविधिकको जिम्मेवारी वहन गरेर बसिरहेका उहाँले बताउनुभयो । सम्बन्धित सञ्चार माध्यमका व्यवस्थापकले समाचार लेख्न चाहने महिला सञ्चारकर्मीलाई तालिम सहित अवसर दिनुपर्ने,महिला भएकै कारण अवसरबाट बञ्चित गर्ने र पारिश्रमिकमा विभेद गर्न नहुने अनमोलले बताउनु भएको थियो ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्माले सफल पत्रकार बन्न मेहनती र इमानदार हुनुपर्ने बताउनुभयो । महिला पत्रकार पत्रकारितामा टिक्न सकिरहेका छैनन्। यसको कारण खोजेर उनीहरूलाई मिडियाको मूलधारमा टिकाइ राख्न महासंघले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले मोफसलका सञ्चार माध्यममा दक्ष जनशक्तिको अभाव भएको बताउनुभयो । क्षमता भएका र काम गर्नेलाई मिडियाको खाँचो नभएको उहाँले बताउनु भएको थियो ।
विवाह पश्चात महिलालाई पत्रकारिता गरिरहन समस्या भएको स्वतन्त्र पत्रकार महासंघ केन्द्रीय महासचिव जीवलाल सुवेदीले बताउनुभयो । महिलाले पनि पत्रकारिताबाट समाज रुपान्तरण गर्न सक्छन् । क्षमतावान महिला पत्रकारलाई पत्रकारिता पेशामा टिकाइ राख्नको लागि समाज तथा परिवारलाई सचेतीकरण गर्न आवश्यक रहेको उहाँले बताउनु भएको थियो ।
पत्रकार जगदीश भट्टराईले मिडियामा काम गर्ने पत्रकारले यो वा त्यो बाहानामा नेपाल पत्रकार महासंघको सदस्यता पाउन नसकेको बताउनुभयो । नेता पत्रकारभन्दा मिडियामा काम गर्ने पत्रकारलाई सदस्यता दिनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।
लायन्स क्लब अफ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । गुणस्तरीय, विश्वसनीय र खोजमूलक समाचार प्रकाशन तथा प्रशासरणमा ध्यान दिन उहाँले सुझाउनुभयो ।
रोटरी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष शैलेन्द्र भट्टराई, लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष यादवसिंह कार्की, पाल्पा उद्योग वाणिज्य संघअन्तर्गत उद्योग महिला संयोजक रञ्जना अर्याल, पाल्पा व्यापार संघ सदस्यका अम्बिका तिमिल्सेनाले समाचारमा निष्पक्षता हुनुपर्ने बताउनुभयो ।
पाल्पामा पहिलो पटक सञ्चारिका समूह गठन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ ।

SHARE