कर्मचारीलाई संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा सेवा बन्द

0
277

साउन२०,२०७८पाल्पा :कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा रोकिएको छ। सेवा आजदेखि साउन २९ सम्म रोकिएको जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

केही कर्मचारीलाई सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि मंगलबार नौजनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो। अन्य कर्मचारीलाई समेत कोरोना पोजेटिभ भएको हुन सक्ने र सेवाग्राहीमा संक्रमण फैलन सक्ने जोखिम भएकाले कार्यालयले दिँदै आएको सेवा बन्द गर्नु परेको पाण्डेले बताए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरीबाहेक अन्य सबै सेवा बन्द हुने छ।

पाल्पामा कोरोनाको संक्रमण दर बढ्दो अवस्थामा रहेकाले अनावश्यक भीडभाड नगर्न उनले आग्रह गरे। स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डको पूर्णरुपमा पालना गरी आफू बाँच्न र अरुलाई बचाउन आम पाल्पालीसँग प्रजिअ पाण्डेले अपिल गरे।

SHARE