पाल्पामा उद्योग दर्ता हुने क्रम बढ्दो

0
414

—सुशीला रेग्मी
रामपुर (पाल्पा), १८ साउन : पाल्पा जिल्लामा पछिल्लो समय उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढ्दै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग संचालन गर्ने युवाको अहिले होडबाजी नै छ ।
पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई गाउँ गाउँमा पनि उद्योग खुल्ने क्रम बढीरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउँदै गएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा आर्थिक वर्ष २०७७÷०७८ मा ६१९ उद्योग र ३८३ वटा वाणिज्यफार्म गरी जम्मा एक हजार दुई फार्म दर्ता भएको पाइएको छ ।
यहाँ दर्ता भएका उद्योग तथा फार्मबाट रु ६५ लाख राजश्व सङ्कलन भएको छ । दर्ता भएका उद्योगहरुमध्ये अधिकांश प्राइभेट उद्योग रहेका छन् भने केही साझेदारी र प्राली उद्योग छन् ।
उत्पादनमुलक ५१, कृषि तथा वनजन्य ४२८, पर्यटन र सेवामुलक ७०÷७० वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । यसवर्ष दर्ता भएका उद्योगमध्ये २९८ महिलाको नाममा छन् । जुन अघिल्लो आर्थिक वर्ष भन्दा बढी हो । पुरुषको नाममा ३८९ उद्योग दर्ता भएको उद्यम विकास सहजकर्ता घिमिरेले जानकारी दिनुभएको छ । वाणिज्यफार्म तर्फ दर्ता भएका फार्महरुमा अधिकांश किराना पसल रहेको पाइएको छ ।
आ.व. ०७७÷०७८ मा दर्ता भएका उद्योगहरुमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी गरेका छन् भने वाणिज्य फार्महरुको रु ५४ करोड ८१ लाख लगानी परेको छ । दर्ता भएका उद्योगहरुमा दुई हजार ३३६ जनाले रोजगारी प्राप्त गरेका छन् ।
यसैगरी कार्यालयमा आ.व. ०७७÷०७८ मा उद्योग ४६० र वाणिज्यफार्म ६६१ गरी जम्मा एक हजार १२१ फार्म नविकरण गरिएको छ । एक सय दुई उद्योग र १४३ वाणिज्य फार्म गरी जम्मा २४५ लागत कट्टा भएका छन् भने पुँजी बृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारी लगायतका एक हजार १०१ वटा कार्यहरु भएका छन् ।
उद्योग दर्ता गरेपछि पाँच वर्ष सम्म नविकरण गर्नु नपर्ने र त्यसपछि दुई÷दुई वर्षको अवधीमा नविकरण गर्ने गरिन्थ्यो भने हाल तीन÷तीन वर्षको अवधीमा उद्योग दर्ता गर्ने व्यवस्था रहेको छ ।
पछिल्लो क्रममा प्रदेश सरकाले जारी गरेको कानुन बमोजिम पाँच लाख भन्दा कम पुँजी लगानी भएका उद्योग तथा वाणिज्यफार्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने संख्या बृद्धि भएको हो ।
प्रदेश सरकारले कोभिडको कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आर्थिक वर्षमा जिल्लामा उद्योगीको संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख उद्योग अधिकृत देवीराम भण्डारी बताउनुहुन्छ ।
प्रदेश सरकारबाट प्राइभेट फार्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी वर्षेनी बढ्दै गएका हुन् ।
“नागरिक आयआर्जनमुलक क्षेत्रमा आफै सचेत भएका कारणले पनि उद्योग क्षेत्रमा लगानी गर्न थालेका छन्, पछिल्लो समय पाल्पामा उद्योगमा धेरैले लगानी गरेर व्यवसाय बन्ने क्रम बढेको छ” अधिकृत भण्डारीले भन्नुभयो ।
उहाँका अनुसार दर्ता भएका उद्योगमध्ये बढीमा ८० प्रतिशतले कृषि उद्योग छन् । वार्षिक कार्यक्रमबाट यसवर्ष घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न नौ वटा तालिम संचालन गरेर ९० जनालाई सीप विकास तालिम प्रदान गरेको छ ।
कार्यालयले जिल्लाका ६२ जना उद्यमीहरुलाई प्रबिधि हस्तान्तरण गरेको छ भने पाल्पाका उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको बजारीकरणका लागि पर्यटकीय स्थान सिद्धबाबामा कोसेली घर संचालनमा ल्याएको छ ।
अदुवा उत्पादन हुने पूर्वी पाल्पामा अदुवा प्रशोधन गर्ने उद्धेश्यले निस्दी गाउँपालिका वडा नं ५ स्थित ढुंगानावेशीमा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारीलाई अदुवा प्रशोधन उद्योग स्थापना गर्न मेसिनरी सामग्री समेत सहयोग गरेको छ ।
जिल्लाका दशवटै पालिकाका दुई÷दुई विद्यालयमा उपभोक्ता जागरण शिक्षा संचालन कार्यक्रमबाट एक हजार बढी लक्षित वर्गका नागरिक लाभान्वित भएका छन् ।
सधै अर्काको परनिर्भरतामा रहेका यहाँका महिलाहरु हिजोआज घरेलु उद्योग संचालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुदै गएका छन् । महिलालाई उद्योग दर्तामा छुट दिएकाले हालसालै रामपुरमा आकाङ्क्षा किराना स्टोर्सका नाममा उद्योग दर्ता गरेको आकाङ्क्षा घिमिरे बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “महिलाका नाममा पचास प्रतिशत दर्ता छुट हुन्छ भन्ने सुनेपछि नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर मेरो आफ्नै नाममा व्यवसाय दर्ता गरी अब पसल चलाउने तयारी गरेको छु” ।
आर्थिक वर्ष ०७६÷०७७ को अवधीमा जिल्लामा चार सय सात वटा नयाँ उद्योग थपिएका छन् । जसमा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् ।
तीमध्ये उत्पादनमुलक ४२, कृषि तथा वनजन्यमुलक १५५, पर्यटनमुलक १४८, सेवामुलक ६२ उद्योग दर्ता भएका छन् । महिलाको नाममा १८१ र पुरुषको नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ ।
आ.व. ०७५÷०७६ मा उत्पादनमुलक ५२, कृषि तथा वनजन्यमुलक १११, पर्यटनमुलक ९७ र सेवामुलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ जना महिला उद्यमी रहेका छन् ।
यहाँ दर्ता भएका उद्योगहरुमा साझेदारीका उद्योगमा रु ५० लाख, प्रालीतर्फका रु एक करोड र कृषि उद्योगहरु रु १५ लाख देखि २० लाख सम्मका दर्ता भएको पाइएको छ ।
घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जादा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको छ ।
दश करोड सम्म पुँजी भएका उद्योगलाई साना उद्योग, दश करोड देखि पच्चीस करोड सम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र पच्चीस करोड देखि माथिका उद्योगलाई ठुला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोड माथिका उद्योगहरु विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।

SHARE