पाल्पामा ९४ प्रतिशत रोपाइँ सकियो

0
317

साउन१७,२०७८पाल्पा :पाल्पामा ९४ प्रतिशत रोपाइँ भएको छ। धान उत्पादन हुने क्षेत्रमा रोपाइँ सकिए पनि बाढी–पहिरोले क्षति पुगेका खेतमा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए।

स्थानीय तहबाट पछिल्ला समयमा तथ्यांक आउने क्रम जारी रहेको अर्यालले बताए। यो वर्ष ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ हुने उनले बताए।

पाल्पामा ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको थियो। यस वर्ष ८ हजार ७०० पुगेको अर्यालले बताए। गत वर्ष ३३ हजार ८१६ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष उत्पादनमा पनि वृद्धि हुने केन्द्रको अनुमान छ।

पाल्पामा साउन १० गतेभित्रमा धान रोप्ने समय उपयुक्त मानिन्छ। यद्यपि अहिले पनि किसानले धमाधम रोपाइँ गरिरहेका छन्। यो वर्ष मौसम अनुकूल छ। आकाशबाट पानी परिरहेको छ। मौसमविद्का अनुसार खडेरी कम हुने भएकाले धान उत्पादनमा वृद्धि हुने अर्यालले दाबी गरे।

यहाँको माडीफाँट, रामपुरफाँट, अर्गली, कचलफाँट, पूर्वखोलाको रिङ्नेरह, निस्दीको ढुंगानाबेशी, हुँगी, दर्पुक र दैलातुङफाँट धान खेतीका लागि मुख्य ठाउँको रुपमा चिनिन्छ। यहाँ वर्णशंकर, राधा, राधा–१४, सावा मन्सुली, साबित्री, रामधान नामक प्रजातिका धान खेति गरिन्छ।

SHARE