पाल्पामा ८५ प्रतिशत धान रोपाइँ

0
512

सुशीला रेग्मी
साउन १,२०७८ पाल्पाः दोस्रो बालीका रुपमा धान बाली पाल्पामा हालसम्म करिव ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो वर्ष असारको दोस्रो साता देखि नै जिल्लामा धमाधम रोपाइँ सुरु भएको छ ।
जिल्लाको माडीफाँटमा असारमै धान रोप्ने कार्य सम्पन्न भइसकेको छ भने असेर्दी, हुँगी, अर्गलीफाँटका धेरैजसो भु भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ । अन्नको भण्डार मानिने रामपुर क्षेत्रका केही भागमा धान रोपाई हुन बाँकी रहेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।
खेतमा मकै पाक्दै गरेकाले मकै हुने खेतमा रोपाइँ हुन बाँकी छ भने अबको एक साताभित्र जिल्लाका सबै स्थानमा लगभग धान रोप्ने कार्य सकिने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।
“जिल्लाका धेरै ठाउँमा रोपाइँ सकिइ सकेको छ, पूर्वी भेगमा रामपुर लगायतका केही भागमा खेतमा मकैबाली रहेको र सूर्यमुखीको उत्पादन ढिला भएकाले रोपाइँ यो वर्ष ढिला सुरु भएको हो भने अन्य स्थानमा असारमा पानी परे लगत्तै कृषकले धान रोपाइँ सुरु गरेका छन्” प्रमुख अर्यालले भने ।
यसवर्ष अघिल्ला वर्षको तुलनामा धान रोपाइँ हुने क्षेत्रफल बढेको पाइएको छ । कोरोनाको कहरले युवा जनशक्ति गाउँमै बस्नु, शहरमा विभिन्न पेशा, व्यवसायमा रहेका नागरिक गाउँमा बस्न थालेपछि अघिल्ला वर्षमा बाँझो रहने जग्गामा पनि धान लगाउन थालिएको छ ।
करिव आठ हजार ६२० हेक्टर क्षेत्रफलमा यसभन्दा अघि धान रोपाइँ हुने गरेकोमा यसवर्ष वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती विस्तार भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
मनसुन छिटो भित्रिएकाले भने कृषकले बाँझो रहेका, मकैबाली उत्पादन लिएका जग्गामा असारमै धान रोपाई सम्पन्न गरिसकेका छन् । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि धान रोपाइँ छिटो छरितो हुने गरेको छ ।
साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्धेश्यले कृषकहरु उन्नत प्रबिधिका धानमा आकर्षित हुन थालेका छन् ।

SHARE