रामपुरमा कृषि तथा पशु उद्यमशिलता सम्बन्धी कार्यक्रम

0
395

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० असार
रामपुरमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको आयोजनामा परियोजना व्यवस्थापन तथा अनुदान समिति गठन र अभिमुखीकरण कार्यक्रम भएको छ । रामपुर नगरपालिकापालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको साझेदारीमा कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकामा कृषि र पशु क्षेत्रमा काम गर्नका लागि हेफर प्रोजेक्टले दुई करोड बराबरको योजना सार्वजनिक गरेको छ ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नुहुदै संस्थाले रामपुर नगरपालिका भित्र संचालन गर्ने कार्यक्रमका सम्बन्धमा जानकारी दिनुभएको छ । कार्यक्रम प्रबन्धक सिलवालले गरिवीको रेखामुनी रहेका न्युन आयस्तर भएका विपन्न नागरिकको जीवनस्तर माथि उकास्न संस्थाले कृषि र पशुका क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संस्थाको नीति र वजेटको तालमेल मिलेमा काम राम्रो हुने बताउनुहुदै संस्थाले वितरण गरेको बाख्राले त्यसबाट नागरिकको आयस्तरमा बृद्धि भए नभएको भनी अनुगमन र निगरानी गर्नुपर्ने बताउनुभएको छ । प्रमुख प्रशासकिय अधिकृत नागिलाले समन्वय, सहकार्य र सह अस्तित्वका साथ कार्य गरियो भने कामको प्रतिफल लिन पाइने बताउनुभएको छ ।
नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कृषि तथा पशु कार्यालयका कर्मचारी, पत्रकार लगायतको सहभागीता रहेको थियो । हेफर ईन्टरनेशनल नेपालले रामपुर नगरपालिकामा बेस नेपाल संगको साझेदारीमा काम सुरु गरेको छ । यस संस्थाले न्युन आयस्तर भएका नागरिकलाई माथि उकास्न नगरपालिका भित्र केही सय अघि एक सय २८ वटा बाख्रा तथा चार वटा बोका वितरण गरेको छ ।
पछौटेपन उन्मुलन समाज (बेस) नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन बेस नेपालका परियोजना युवा संयोजक सन्जु परियारले गर्नुभएको हो । कार्यक्रमको अवसरमा विभिन्न व्यवस्थापन समिति र अनुगमन समिति प्रस्ताव तथा छनौट गरिएको छ । साउन ५ गते देखि १४ गते सम्म नगरपालिकाभित्रका दशवटै वडामा वडास्तरिय समिति गठन गरिने जनाइएको छ ।

SHARE